Logo

Breaking News 1

बाजुरा जिल्लाकै पहिलो बारुवा रोपाईं (तस्बिरसहित)



बाजुरा । बाजुरा जिल्लाकै पहिलो बारुवा रोपाईँ सुरु भएको छ । बुढीनन्दा नगरपालिका वडा.नम्बर १० पाण्डुसैनमा जिल्लाकै इतिहास बोकेको उक्त बारुवा रोपाईँलाई विशेष पर्वको रुपमा समेत लिने गरिन्छ ।

रोपाईँ मात्र नभई त्यसले सामाजिक,संस्कृतिक र परम्पराको गाथा समेत बोकेको हुँदा यस रोपाईँलाई जिल्लाकै महत्त्वपूर्ण रोपाईँका साथ पर्वको रुपमा हेरिन्छ ।

टाढाटाढा गएका स्थानीयहरु यस रोपाईँमा घर आएर बारुवा रोपाईँमा समावेश हुने गरेका छन् । बुढीनन्दा पाण्डुसैन (बाटुल्सेराको) रोपाईँ हरेक बर्ष जेष्ठ दोस्रो सातादेखि सुरु हुने गर्छ । रोपाईँमा बाजागाजा सहित भव्य देउडा, हुड्क्यौली लगाएर बारुवा रोपाईको प्रारम्भ गरिन्छ ।

आपसी सद्भाव,भाईचारको सम्बन्ध, माया, ममता साटासाट र परम्परागत संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ यो रोपाईँ प्रत्येक बर्ष गर्ने गरिन्छ । हजारौंको संख्यामा स्थानीय उपस्थिति भई खेतमा रमाइलो गरिन्छ । हली, बाउस्या र रोपन्यारी एकआपसमा भाका हालेर गित गाउँदै हिलो छ्याप्दै रमाईलो गर्छन् ।

परम्परा अनुसार, पहिले कैलाश देवताको थानमा सुनको थालमा, रोपाईँ हुने खेतको हिलो (पागो) र बीउ लिएर सोही सुनको थालमा चाँदीको हलोले रोपाईँ हुने र खेतमा पनि एकसाथ रोपाईँ गरिने र दुवै ठाउँको धान संगै फल्ने धार्मिक परम्परा अनुसार यो प्रचलन रहिआएको बुढापाखाको भनाई छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ९ : ०२ बजे