Logo

मनोरञ्जन

‘गंगारानी’ मा वर्षा शिवाकोटी अनुबन्धित



काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘गंगारानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ ।
रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटी पोस्टरमा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन् । उनको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम, रहस्य र संघर्षको संकेत दिन्छ । त्यसैगरी पोस्टरको अगाडि एक युवकको कालो छायाँ देखाइएको छ, जसले सिनेमाको कथामा कुनै गहिरो रहस्य वा भावनात्मक सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ । ती व्यक्ति को हुन त्यो खुलाइएको छैन ।
पृष्ठभूमिमा पुराना घरहरू र बस्तीको परिवेश देखाइएको छ । आहा फिल्मस्को प्रस्तुतिमा बन्ने सिनेमा का निर्माता कमलप्रसाद शर्मा हुन् । सिनेमामा लेखन तथा निर्देशन राजबहादुर सानेको रहनेछ । यो सँगै निर्माण टिमले कास्टिङ कलको आह्वान पनि गरेको छ । एक पोस्टरमार्फत टिमले मुख्य पात्रहरूमा ४ महिला र ४ पुरूष आह्वान गरेको हो ।
पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिलाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारलाई आवेदन दिन सकिने पोस्टरमा उल्लेख गरिएको छ । आवेदन अवधि जेठ २० सम्म रहनेछ ।
निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका सिनेमा लेखन तथा निर्देशन गरिसकेका छन् । ‘बुलाकी’ बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कार समेत जितेका थिए । 
आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको तथा निर्देशक सानेले नै निर्देशन गरेको सिनेमा ‘लज्जावती’ प्रदर्शनको तयारीमा छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ३ : ५६ बजे