काठमाडौं । पोखरा महानगरपालिकाले फिर्के खोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन आइतबार बिहानदेखि डोजर परिचालन गरेको छ ।
फेवातालको मुहानका रूपमा रहेको फिर्के खोलाको संरक्षण तथा सीमांकनसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै महानगरले तीन स्थानबाट संरचना हटाउन थालेको हो ।
महानगरपालिकाले २०८० साउनमा गरेको प्राविधिक नापजाँचका क्रममा ८ किलोमिटर क्षेत्रभित्र १६० भन्दा बढी अवैध संरचना निर्माण भएको पाइएको थियो । तीमध्ये ९७ वटा अस्थायी घर रहेका छन् भने बाँकी स्थायी संरचना रहेको प्रतिवेदनमा उल्लेख छ ।
अतिक्रमित क्षेत्रमा विद्यालय, विभिन्न समाज घर, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन तथा वडा नम्बर १७ गाईघाटस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रसमेत रहेको महानगरले जनाएको छ ।
गत वैशाख ४ गते महानगरले मापदण्डभित्रका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । सूचना अवज्ञा भएपछि आइतबारदेखि डोजर परिचालन गरिएको हो ।








प्रतिक्रिया