Logo

Breaking News 1

रास्वपा बाराको विस्तारित बैठकमा तनाव, सांसद तथा नेताहरुविरुद्ध नाराबाजी



रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा तीव्र विवाद र तनाव उत्पन्न भएको छ । विवादका क्रममा आक्रोशित कार्यकर्ताहरूले बैठक स्थलमा उपस्थित प्रतिनिधिसभा सदस्य (सांसद) तथा केन्द्रीय नेताहरूलाई धक्का दिन थालेपछि प्रहरीले कार्यक्रम स्थलबाट बाहिर निकालेको थियोे ।

शनिबार बाराको कलैयास्थित करणराज पार्टी प्यालेसमा रास्वपाको विस्तारित बैठक आयोजना गरिएको थियो । बैठकमा बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नं. २ का चन्दन सिंह, क्षेत्र नं. ३ का अरविन्द साह, क्षेत्र नं. ४ का रहबर अन्सारी तथा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीलगायतका केन्द्रीय नेताहरू सहभागी थिए ।

सहभागीहरूका अनुसार पार्टीका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षलाई दबाबमा पार्ने र बाइपास गर्ने प्रयास गरिएपछि विवाद सुरु भएको थियो । भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै गएपछि आक्रोशित कार्यकर्ताहरूले नेताहरूविरुद्ध नाराबाजी गरेका थिए ।

प्रहरी टोलीले आक्रोशित भीडबाट सांसद तथा केन्द्रीय नेताहरूलाई सुरक्षित रूपमा अर्को ठाउँमा पठाएको थियो । केही दिनअघि मात्रै रास्वपाले संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता समेत खारेज गरेपछि बारामा पार्टीभित्रको आन्तरिक विवाद निकै गहिरिएको थियो ।

सोही असन्तुष्टिको विष्फोट आजको बैठकमा भएको बुझिएको छ । हाल बैठक स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र कडा सुरक्षाका बीच कार्यक्रम पुनः सुचारु गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ४ : ४२ बजे