रामेछाप । रामेछापमा आयुर्वेदिक उपचार प्रति नागरिकहरूको आकर्षण ह्वात्तै बढेको छ । जिल्लाका गाउँ गाउँमा सञ्चालन हुने विशेषज्ञ शिविरमा पनि सबैभन्दा बढीले आयुर्वेदिक उपचार सेवा लिएको पाइएको छ।
वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिकाको बाम्ती र प्रीतिमा सञ्चालन गरेको एकीकृत जनस्वास्थ्य शिविरमा सबैभन्दा बढी सेवाग्राहीले आयुर्वेदिक सेवा लिएका छन् ।
जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाका अनुसार प्रीति अस्पतालमा आयोजना गरिएको शिविरमा मूल दर्ता भएका ४९४ जना मध्ये २२० जनाले आयुर्वेदिक उपचार लिएका छन् । जहाँ एलोपथिक तर्फ १३६ जनाले सामान्य जाँच गराएका थिए । यसै गरी ११५ जनाले दाँत, १२५ जनाले हाडजोर्नी, ११० जनाले स्त्री तथा प्रसूति रोग, १८४ जनाले आँखा, १सय २ जनाले युएसजी र २८ जनाले ल्याब सेवा लिएका थिए ।
यसै गरी बाम्ती स्वास्थ्य चौकीमा भएको एकीकृत जनस्वास्थ्य शिविरमा ३६२ जनाले सेवा लिएकामा २५५ जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । सो शिविरमा जनरल तर्फ ९५ जनाले जाँच गराएका थिए भने १५ जनाले बाल रोग, ६० जनाले दन्त सेवा, ७५ जनाले हाडजोर्नी, ७० जनाले स्त्री रोग, ११८ जनाले आँखा, ३४ जनाले ल्याब, ८५ जनाले भिएसजी, २५ जनाले भिआइए र ६ जनाले एक्स-रे सेवा लिएका थिए ।
पछिल्लो समय जिल्लामा आयुर्वेदिक उपचार पद्धति र यसको महत्वको बारेमा प्रचार भए पछि आयुर्वेदिक उपचारमा नागरिकहरूको आकर्षण बढेको हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा आयुर्वेदिक उपचारको महत्त्व बारे जानकारी सहितका स्वास्थ्य शिविर तथा घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले नागरिकमा यो उपचार पद्धतिबारे सचेतना बढेको छ ।








प्रतिक्रिया