Logo

शिक्षा

त्रिविको ८० प्रतिशत उपस्थितिको नियम पुनरवलोकन गर्न सांसद धितालको आग्रह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयमा ८० प्रतिशत भौतिक उपस्थितिको नियममाथि पुनर्विचार गर्न आग्रह गरेकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धितालले त्रिवि अन्तगएतका कक्षाहरुमा प्रत्येक सेमेस्टरमा लागू गरिएको ८० प्रतिशत उपस्थितिको नियमको उद्देश्य सकारात्मक भएपनि त्यसले मात्र विद्यार्थीको ज्ञान र क्षमता मापन गर्न नसकिने बताइन् ।
उनले भनिन्, ‘त्रिभुवन विश्वविद्यालयमा प्रत्येक सेमेस्टरमा ८० प्रतिशत भौतिक उपस्थितिको नियमको उद्देश्य राम्रो थियो । नियमिता र गुणस्तरिय शिक्षा सुनिश्चित गर्नु राम्रो हो । तर सोचौं त भौतिक उपस्थितिको प्रतिशतले मात्र ज्ञान मापन गर्न सकिन्छ ? आज विश्व खुला ज्ञानको युगमा प्रवेश गरिसकेको छ । तर आज पनि हामी विद्यार्थीको क्षमता भन्दा बेन्चमा बसेको समय गणना गर्ने मानसिकतामा अल्झिरहेका छौं । यदी विद्यार्थी कक्षामा बसेर पनि सिकिरहेको छैन भने १०० प्रतिशत उपस्थिति पनि विना अर्थको देखिन्छ ।’
उनले नियमिता र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु आवश्यक भए पनि अहिले विश्व खुला ज्ञानको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै विद्यार्थीको क्षमता भन्दा पनि कक्षाकोठामा बिताएको समयलाई प्राथमिकता दिने मानसिकता परिवर्तन गर्नुपर्ने धारणा राखिन् ।
सांसद धितालले नियमहरू विद्यार्थीलाई सक्षम बनाउनका लागि हुनुपर्ने, दबाब सिर्जना गर्नका लागि नभएको बताउँदै सरकार र विश्वविद्यालय प्रशासनलाई उपस्थितिको कठोर गणनाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा, सिर्जनशीलता र वास्तविक सिकाइलाई केन्द्रमा राख्न आग्रह गरिन् ।
उनले भनिन्, ‘नियमहरु विद्यार्थीलाई सक्षम बनाउनका लागि हुनुपर्छ, थिच्नका लागि होइन । सरकार र विश्वविद्यालय प्रशासनलाई आग्रह गर्न चाहन्छु उपस्थितिको कठोर गणना भन्दा माथि उठेर गुणस्तरिय शिक्षा, सिर्जनशिलता र वास्तविक सिकाईलाई केन्द्रमा राख्ने साहस गरियोस् ।’

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १२ : ३८ बजे