Logo

समाचार

पुल्चोकमा ‘एडब्लुएस कम्युनिटी डे’ : नेपालको क्लाउड र एआई क्षेत्रमा बढ्दो सम्भावनाबारे छलफल



काठमाडौँ । नेपालमा क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) तथा साइबर सुरक्षाप्रतिको बढ्दो चासोबीच आयोजित ‘एडब्लुएस कम्युनिटी डे नेपाल २०२६’ को तेस्रो संस्करण सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालभरिबाट आएका ५०० भन्दा बढी डेभलपर, इन्जिनियर, आर्किटेक्ट, स्टार्टअप संस्थापक, संस्थागत नेतृत्वकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो समुदायमा आधारित प्रविधि सम्मेलनहरूमध्ये एकका रूपमा चिनिन्छ।
एडब्लुएस युजर ग्रुप नेपालद्वारा ललितपुरस्थित द प्लाजा, पुल्चोकमा आयोजित कार्यक्रममा क्लाउड पूर्वाधार, साइबर सुरक्षा, एआई प्रणाली, प्लेटफर्म इन्जिनियरिङ तथा आधुनिक डिजिटल रूपान्तरणसम्बन्धी १५ भन्दा बढी प्राविधिक सेसन, कीनोट प्रस्तुति, नेतृत्व संवाद तथा विशेष प्राविधिक ट्र्याक सञ्चालन गरिएको थियो।
कार्यक्रम उद्घाटन गर्दै एडब्लुएस युजर ग्रुप नेपालका लिडर तथा जेनेस सलुशनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत अन्जानी फुयाँलले नेपालमा क्लाउड, एआई र साइबर सुरक्षा क्षेत्रमा समुदायमार्फत हुने सिकाइ र सहकार्यको भूमिका झन् महत्वपूर्ण बन्दै गएको बताए।
फुयाँल यूके तथा आयरल्याण्ड क्षेत्रमा शीर्ष एडब्लुएस एम्ब्यासडर मध्ये एकका रूपमा परिचित छन् । उनले संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रस्तुति दिइसकेका छन ।
‘एडब्लुएस कम्युनिटी डे नेपाल’ केवल प्राविधिक सेसनहरूको कार्यक्रम मात्र होइन, यो निर्माणकर्ता, सिक्ने समुदाय, नेतृत्वकर्ता तथा नवप्रवर्तनकर्ताहरूलाई एकै ठाउँमा ल्याएर सहकार्य, सिकाइ र नेपालको डिजिटल भविष्यलाई सशक्त बनाउन जोड्ने साझा मञ्च हो,’ फुयाँलले भने।

कार्यक्रममा भारतबाट आएका एडब्लुएस तथा प्रविधि क्षेत्रका अन्तर्राष्ट्रिय विज्ञहरूको पनि सहभागिता रहेको थियो।
चनप्रित सिंह, अमित कुमार तथा जतिन मेहरोत्रालगायतका वक्ताहरूले व्यवहारिक एआई प्रयोग, भरपर्दो क्लाउड पूर्वाधार, प्लेटफर्म आधुनिकीकरण तथा संस्थाहरूलाई आधुनिक क्लाउड–नेटिभ एप्लिकेसन निर्माणमा सहयोग गर्ने विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजित नेतृत्वस्तरको प्यानल छलफल एडब्लुएस युजर ग्रुप नेपालका लिडर अन्जानी फुयाँलद्वारा सञ्चालन गरिएको थियो।
उक्त छलफलमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष राजेन्द्र खेतान, क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान सहभागी थिए।
छलफलमा नेपालका वित्तीय संस्था, उद्यम तथा प्रविधि नेतृत्वकर्ताहरूले क्लाउड प्रविधि अपनाउने तयारी, एआई रणनीति तथा साइबर सुरक्षा सुदृढीकरणलाई कसरी अघि बढाइरहेका छन् भन्ने विषयमा विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न तीनवटा समानान्तर प्राविधिक ट्र्याक सञ्चालन गरिएको थियो।
कार्यक्रममा मोहम्मद मिजानुर रहमान, पुरु तुलाधर, आनन्द मेहता, श्रीति श्रेष्ठ, नारायण कोइराला तथा प्रभात आचार्य लगायतका प्राविधिक वक्ताहरूले क्लाउड सञ्चालन,डेभस्कोप्स, एआई प्रणाली, मेसिन लर्निङ तथा उद्यम–स्तरका डिजिटल प्लेटफर्मसम्बन्धी आफ्नो व्यावहारिक अनुभव र दृष्टिकोण साझा गरेका थिए।
एडब्लुएस कम्युनिटी डे’ २०२६ मा देखिएको उल्लेखनीय सहभागिताले नेपालमा क्लाउड, एआई तथा साइबर सुरक्षा सम्बन्धी सीप र सिकाइप्रति युवापुस्ता तथा संस्थागत क्षेत्रको रुचि तीव्र रूपमा बढिरहेको संकेत गरेको आयोजकहरूले बताए।
विश्वका विभिन्न देशहरूमा आयोजना हुने एडब्लुएस कम्युनिटी डे कार्यक्रमहरू ‘समुदायद्वारा, समुदायका लागि’ भन्ने अवधारणामा आधारित छन्। यस्ता कार्यक्रम अमेरिका, भारत, जर्मनी, दक्षिण अफ्रिका, बंगलादेश तथा हङकङलगायत देशहरूमा नियमित रूपमा आयोजना हुँदै आएका छन्।
आयोजकका अनुसार यस कार्यक्रमले नेपालमा समुदाय–आधारित प्राविधिक सिकाइको महत्वलाई अझ मजबुत बनाउनुका साथै नेपाल विश्वव्यापी क्लाउड कम्प्युटिङ, एआई अपनाउने प्रवृत्ति तथा साइबर सुरक्षा नवप्रवर्तनसँग तीव्र रूपमा जोडिँदै गएको संकेत गरेको छ।
अमेजन वेब सर्भिसेज (एडब्लुएस) युजर ग्रुप नेपाल नेपालभर करिब ३,००० सदस्य रहेको समुदाय–आधारित प्रविधि प्लेटफर्म हो। यसले क्लाउड, एआई तथा आधुनिक प्रविधिसम्बन्धी ज्ञान आदानप्रदान, मिटअप, कार्यशाला, प्राविधिक सेसन तथा समुदाय–आधारित कार्यक्रममार्फत प्रविधि समुदायलाई जोड्ने काम गर्दै आएको छ।
एडब्लुएस युजर ग्रुप्स विश्वव्यापी समुदाय सञ्जालको हिस्सा हुन्, जुन ८९ देशमा फैलिएको छ। हाल विश्वभर ३६२ एडब्लुएस युजर ग्रुप्स तथा ४ लाख ५५ हजारभन्दा बढी सदस्यहरू रहेका छन्, जसले यसलाई विश्वकै ठूलो क्लाउड तथा डेभलपर समुदायहरूमध्ये एक बनाएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  २ : ०३ बजे