काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको बताएका छन् । आज मदन-आश्रितको ३३औँ स्मृति दिवसमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदा रहेछन् भदै स्मरण गरे, ‘अभावहरू झन् गहिरिँदा रहेछन् । जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा-सबै हुनुहुन्थ्यो । जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो ।’
मदन भण्डारी कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा भएको बताउँदै ओलीले त्यस दौरानमा उनको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको जिकिर गरे ।
‘जनताको बहुदलीय जनवाद, जसले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पु¥याउने मार्गचित्र दियो त्यसलाई हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौं,’ सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै ओलीले भने ।
उनले पछिल्लो दशकमा त्यस अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा परिवर्तन पनि ल्याउन थालेको बताए । उनले मदन भण्डारी-जीवराज आश्रित, र यस आन्दोलनले जन्माएका कयौँ अग्रज र योद्धाहरू आज आफूमाझ शारीरिक रूपमा नरहे पनि विचार र योगदान राजनीतिक यात्रामा दीप स्तम्भझैँ रहेको जिकिर गरे ।
जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभई यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको ओलीको भनाइ छ ।








प्रतिक्रिया