काठमाडौं । हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली युवा सरोज अर्याल आफ्नै जन्मदिनको अवसर पारेर आगामी मे १९ मंगलबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने लक्ष्यका साथ अहिले आधार शिविरमा तीव्र तयारी गरिरहेका छन् ।
अर्याल खुम्बु आइसफल खुलेसँगै आगामी चुनौतीपूर्ण यात्राका लागि आरोहणपूर्वको अभ्यासमा व्यस्त छन् ।
आफ्नै देशको गौरव सगरमाथामा नेपालीभन्दा विदेशी आरोहीको बाहुल्यता देखेपछि आफूपनि नेपाली हुनुको नाताले सगरमाथा चढ्नुपर्छ भन्ने प्रेरणाले सगमाथाको आधार शिविरसम्म पुगेको उनले बताए ।
सगरमाथाको आधार शिविर (बेसक्याम्प) पुगेपछि सरोजले त्यहाँको माहोल अलि फरक पाएको बताए । नेपाल आफ्नै देश भएपनि आरोहणका लागि आएकाहरूमा नेपालीभन्दा विदेशीहरूको संख्या धेरै देख्दा उनलाई अचम्म लागेपछि त्यहाँ भेटिएका विदेशीहरूसँग कुराकानी गर्दै उनले सगरमाथा चढ्नुको कारण सोधेको पनि बताए ।
उनले भने, ‘मैंले यहाँ सगरमाथा चढ्न धेरैजसो विदेशीहरु भेटें । अनि आफ्नो देशमा भएको सगरमाथा नेपाली भन्दा विदेशी धेरै हुनुहुन्छ । किन चढ्न आउनु भएको भनेर सोध्ने पनि गरेको छु । सबैको उत्तर–संसारको सबैभन्दा अग्लो स्थानबाट हेर्दा कस्तो हुन्छ भनेर अनुभव लिनका लागि हो भन्ने किसिमको प्रतिक्रिया पाए । नेपाली भएका नाताले सगरमाथा चाहीं चढ्नपर्छ भन्ने लागिरहेको थियो । त्यही भएर सगरमाथा चढ्न आएका हौं ।’
हालसम्मको यात्रा सहज र उत्साहजनक रहेपनि वास्तविक चुनौती अब सुरु हुनेमा उनी सचेत छन् । भर्खरै खुम्बु आइसफलको बाटो खुलेकाले अबको यात्रा बढी जोखिमपूर्ण हुनसक्ने उनी बताउँछन्।
सरोजले भने, ‘अहिलेसम्म खासै गाह्रो भइसकेको छैन । तर अब क्याम्प वानतर्फ लाग्दादेखि भने गाह्रो हुन सक्छ । हिमालको मौसम र चुनौतीलाई सामना गर्नका लागि अहिले बेसक्याम्पमै आवश्यक ट्रेनिङ गरिरहेका छौँ ।’
सगरमाथा आरोहण यात्रा सरोजका लागि जीवनकै सबैभन्दा ऐतिहासिक र स्मरणीय क्षण बन्ने भएको छ । हाल ३० वर्ष पुगेका सरोजको आगामी मे १९ मा जन्मदिन पर्दछ । उनले योजना अनुरुप नै काम बन्दै गएमा जन्मदिनकै दिन सगरमाथाको शीर्ष विन्दुमा पाइला टेक्ने लक्ष्य राखेका छन् ।
‘मे १९ मा मेरो जन्मदिन हो । सकेसम्म सोही दिन (१९ तारिखमै) सगरमाथाको शिखरमा पुग्ने हाम्रो मुख्य लक्ष्य छ,’ उनले उत्साहका साथ भने ।








प्रतिक्रिया