सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका – ५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा शुक्रबार साँझ इट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साँझ करिब ६ बजे इट्टा निकाल्ने क्रममा अचानक इट्टाको प्रखाल भत्किँदा काम गरिरहेका मजदुरहरू माटो र इट्टाले पुरिएका थिए। स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो ।
घाइते तथा पुरिएकाहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। उपचारका क्रममा गौडेता नगरपालिका – ७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता नगरपालिका – ९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखेमपुर निवासी ३५ वर्षीय अंगद कुमारलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा मलंगवा नगरपालिका-७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन्। तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवैको अवस्था सामान्य रहेको बताइएको छ। घटनास्थलमा जेसीबी प्रयोग गरी थप खोजी तथा इट्टा पन्छाउने काम गरिएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिए ।








प्रतिक्रिया