Logo

मुख्य समाचार

बागमती सिँचाइ आयोजनाद्वारा अतिक्रमित जमिनको नापजाँच सुरु, ४०० घरधुरी प्रभावित हुने



रौतहट । बागमती सिँचाइ आयोजनाले आफ्नो स्वामित्वमा रहेको पूर्वी तथा पश्चिमी नहर क्षेत्रको अतिक्रमित जमिन खाली गराउने प्रक्रिया अन्तर्गत नापजाँच कार्य सुरु गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित जिरो माइलबाट नापजाँचको औपचारिक सुरुवात गरिएको हो ।

आयोजनाका अनुसार, संघीय सरकारको परिपत्र र निर्देशन बमोजिम अतिक्रमित क्षेत्रलाई आयोजनाको पूर्ण स्वामित्व र नियन्त्रणमा ल्याउन यो कदम चालिएको हो । नापजाँचबाट नहरको जमिन यकिन भएपछि त्यहाँ निर्माण गरिएका भौतिक संरचनाहरू हटाइने आयोजनाले स्पष्ट पारेको छ । आयोजनाको नियमानुसार नहरको दुवैतर्फ ६०–६० मिटर क्षेत्र आयोजनाको क्षेत्राधिकारभित्र पर्दछ ।

नहर क्षेत्र खाली गर्न सूचना जारी भएपछि विगत ३० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरू यतिबेला गहिरो चिन्ता र अन्योलमा परेका छन् । रौतहट खण्डमा मात्रै करिब ४०० घरधुरी यस प्रक्रियाबाट प्रभावित हुने अनुमान गरिएको छ । लामो समयदेखि बसोबास गरिरहेका र सोही क्षेत्रमा सानोतिनो व्यवसाय गरी रोजीरोटी चलाइरहेका परिवारहरू एक्कासि उठिबास हुने डरले त्रसित बनेका हुन् ।

प्रभावित बासिन्दाहरूले उचित विकल्प र स्थायी व्यवस्थापन नगरी आफूहरूलाई नहटाउन माग गरेका छन् । उनीहरूले जनप्रतिनिधिहरूसँग भेट गरी सुरक्षित बसोबासको सुनिश्चितताका लागि पहल गरिदिन माग गरेका छन् । बस्तीका प्रभावित बासिन्दाहरूले वैकल्पिक व्यवस्थापन नगरी जबरजस्ती हटाउन खोजिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ८ : ३२ बजे