Logo

Breaking News 1

हर्मुज जलमार्गमा अमेरिकी हस्तक्षेप नगर्न इरानको चेतावनी



काठमाडौं । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहीम अजिजीले हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी हस्तक्षेप भए त्यसलाई युद्धविराम उल्लंघनका रूपमा लिइने चेतावनी दिएका छन् ।

इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख अजिजीले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको प्रोजेक्ट फ्रिडम योजनाप्रति आपत्ति जनाउँदै हर्मुज जलमार्ग र फारसको खाडीको व्यवस्थापन अमेरिकाले गर्न नसक्ने बताएका छन् । ‘अमेरिकाले नयाँ समुद्री व्यवस्थामा हस्तक्षेप गरे त्यसलाई युद्धविराम उल्लंघन मानिनेछ,’ उनले उल्लेख गरेका छन् ।

यसअघि ट्रम्पले प्रोजेक्ट फ्रिडम अन्तर्गत खाडी क्षेत्रमा बढ्दो तनावका बीच हर्मुज जलमार्गमा रोकिएका अन्तर्राष्ट्रिय जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना घोषणा गरेका थिए ।

उनले विश्वका विभिन्न देशले आफ्ना जहाज सुरक्षित रूपमा सञ्चालन गर्न अमेरिकासँग सहयोग मागेको बताएका छन् । ट्रम्पले उक्त योजना सोमबारदेखि लागू हुने जानकारी दिँदै यदि यस मानवीय प्रयासमा अवरोध भए त्यसको कडा प्रतिकार गरिने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ९ : ०६ बजे