Logo

शिक्षा

नयाँ शैक्षिक सत्र : भर्नासँगै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक 



बाजुरा । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुरामा समेत भर्ना अभियानलाई तिब्र पारिएको छ । जिल्लाका नौं वटै स्थानीय तहका सामूदायिक तथा संस्थागत विद्यालयहरूले भर्ना अभियानलाई तिब्र बनाएका हुन् ।

यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण कार्य समेत थालनी गरेका हुन् । अधिकांश विद्यालयहरुले सोही दिन विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक हस्तान्तरण गर्ने गरेका छन्। यसअघि वर्षहरुमा नयाँ भर्ना अभियान २ वैशाख देखि नै सुरु हुँदै आएको थियो।

तर बालेन्द्र शाह नेतृत्वको सरकारले वार्षिक परीक्षा नसकिँदै नीति विद्यालयले भर्ना लिने क्रम रोक्न भन्दै १५ वैशाखदेखि विद्यालयमा भर्ना अभियान सुरु गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई आत्मसाथ गर्दै बाजुराका विद्यालयहरुले समेत भर्ना अभियान सञ्चालन गरेका हुन् ।

भर्नासँगै विद्यार्थीहरुले हातहातमा पाठ्यपुस्तक पाउँदा उनीहरुको सिकाई क्षमतामा अभिवृद्धि हुने मालिका नमूना माविका प्राचार्य शुभराज पाध्यायले बताए। उनले समयमै प्राप्त पाठ्यपुस्तकले विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत सकारात्मक सुधारले ल्याउने बताएका हुन्।

विद्यार्थीहरुको नियमित उपस्थिति,उनीहरुको पढाई प्रतिको मोह र सिकाई प्रक्रिया प्रभावकारी बनाउन सहयोग पुग्ने कुरामा जोड दिए। साथै उनले विद्यार्थीहरुलाई नियमित उपस्थिति र गुणस्तरीय शिक्षमा ध्यान दिन समेत आग्रह गरे ।

भर्नासंगै हातमा पाठ्यपुस्तक पाउँदा खुसी लागेको मालिका नमुना मावि कक्षा १० मा अध्यनरत विद्यार्थी सुशील थापाले बताए । उनले अघिल्ला बर्षहरुमा समयमै पाठ्यपुस्तक नपाउँदा समस्या हुने गरेको गुनासो गर्दै यो बर्ष भर्नासंगै हातमा पाठ्यपुस्तक पाउँदा यसले अध्ययनमा सहज हुने विश्वास व्यक्त गरे । 

त्यस्तै अर्का विद्यार्थी आयुस तिमिल्सिनाले समयमै किताब पाउँदा पढाईलाई निरन्तरताका दिनुका साथै सिकाई निरन्तर र पढ्न प्रेरणा मिल्ने बताए । पहिलेका वर्षहरूमा भर्ना अभियान प्रक्रिया सकिएपछि पनि लामो समयसम्म पाठ्यपुस्तक नपाउँदा यहाँका विद्यार्थीहरुले पढाईबाट प्रभावित हुने गरेको थिए।

सरकारले बाजुरासहित हिमाली तथा पहाडी जिल्लालाई विशेष प्राथमिकतामा राखेर समयमै पाठ्यपुस्तक पुर्याउने लक्ष्य राखेसँगै सोही अनुरुप बाजुरासहित अन्य सुदुरका जिल्लाहरुमा यस बर्ष समयमै पाठ्यपुस्तक पुगेका हुन्। जिल्लामा दुई सय ३७ ओटा सामुदायिक विद्यालयहरु सञ्चालनमा छन्।भने केही नीति विद्यालयहरु समेत छन्।

भर्नासँगै पाठ्यपुस्तक हस्तान्तरणले विद्यार्थीको अध्ययनमा सहज हुने शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ। कार्यालयका अनुसार,विद्यालयहरुले विद्यार्थी भर्ना संगै पाठ्यपुस्तक वितरण गर्न थालेको जनाएको छ। यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने अपेक्षा समेत लगिएको छ । बाजुराका ग्रामिण भेगमा विद्यालयहरुले घरदैलो अभियान,अभिभावक भेटघाट र प्रचार–प्रसारमार्फत विद्यार्थी भर्ना गरिरहेका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ५ : ०० बजे