काठमाडौं । आज ११औँ भूकम्प स्मृति दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ । विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा यो दिवस मनाउन लागिएको हो।
सात दशमलव छ म्याग्निच्युडको उक्त भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो । भूकम्पका कारण आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ जना घाइते भएका थिए। हजारौं घर, विद्यालय, स्वास्थ्य संस्था तथा ऐतिहासिक संरचनाहरू ध्वस्त भएका थिए ।
विनाशकारी भूकम्पपछि पुनर्निर्माण, पुनःस्थापना तथा सुरक्षित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
यस वर्ष पनि भूकम्पीय जोखिम न्यूनीकरण, सुरक्षित संरचना निर्माण तथा विपद् पूर्वतयारीबारे जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न सरकारी तथा गैरसरकारी निकायले सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।
भूकम्पलाई रोक्न नसकिए पनि पूर्वतयारी, सुरक्षित निर्माण र सचेतनाका माध्यमबाट सम्भावित क्षति न्यूनीकरण गर्न सकिने सन्देशसहित आज भूकम्प स्मृति दिवस मनाइँदै छ।








प्रतिक्रिया