Logo

Breaking News 1

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक



काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी अधिकृत सागर श्रेष्ठका अनुसार हुम्लादेखि सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोड्ने र कर्णाली करिडोरमार्फत डोल्पा–जाजरकोट–सुर्खेत हुँदै विद्युत् दोदोधरामा संकलन गर्ने तयारी भइरहेको छ ।

उनका अनुसार पश्चिम सेतीबाट दोदोधरासम्म प्रसारणलाइन निर्माणका लागि कम्पनी स्थापना भइसकेको छ भने बेतन कर्णालीको विद्युत् समेत दोदोधरामै ल्याउने गरी अर्को प्रसारणलाइन अघि बढाइँदैछ । ‘दोदोधरालाई प्रमुख हब बनाउँदै त्यहाँबाट भारतको बरेलीसम्म विद्युत् निर्यात गर्न छोटो र सहज मार्ग तयार हुन्छ,’ श्रेष्ठले बताए ।

प्रस्तावित सबै प्रसारणलाइन निर्माण गर्न करिब १३० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने उनको भनाइ छ । पश्चिम सेती ४०० केभी प्रसारणलाइन (१४५ किमी) बझाङ, डोटी, डडेलधुरा र कैलाली जोड्ने परियोजना हो, जसको अनुमानित लागत २० अर्ब रुपैयाँ छ । यसमा २५०० मेगावाट क्षमतामध्ये हालसम्म ६०० मेगावाट ‘बुक’ भइसकेको छ ।

त्यस्तै, कर्णाली करिडोर प्रसारणलाइन कालिकोटको फुकोटबाट सुरु भई बेतन कर्णाली हुँदै दोदोधरा पुग्नेछ । ९१ किमी लम्बाइको यो लाइनमा भारततर्फ क्रसबोर्डर जोड्न थप ३० किमी विस्तार गरिनेछ । करिब २२ अर्ब लागतको यस आयोजनाको एक खण्डको ठेक्का प्रक्रिया अघि बढिसकेको छ ।

श्रेष्ठले ठूलो पूर्वाधार निर्माणका लागि बजेट अभाव मुख्य चुनौती बनेको उल्लेख गर्दै अर्बौंको परियोजनामा करोडौं मात्र बजेट विनियोजन हुने अवस्थाले काममा ढिलाइ भइरहेको बताए । उनले संघीय सरकार मात्रले सम्भव नभएकाले प्रदेश र स्थानीय तहको सहलगानी आवश्यक रहेकोमा जोड दिए ।

उनका अनुसार ४०० केभीका करिब ४०२ किमी प्रसारणलाइन निर्माण गर्न ७० अर्ब रुपैयाँ आवश्यक पर्छ । यदि ८ हजार मेगावाट विद्युत् उत्पादन भई ५० प्रतिशत निर्यात गर्न सकिए वार्षिक करिब ११२ अर्ब रुपैयाँ आम्दानी हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  १० : ११ बजे