Logo

मुख्य समाचार

सङ्कटमा गैँडाटारको मौलिकताः आधुनिकताको मारमा परम्परागत पानीघट्ट


२७ चैत्र २०८२, शुक्रबार  

46
Shares

रौतहट । रौतहटको उत्तरी भेगमा अवस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ३, गैँडाटारकाे पहाडी फेदीबाट कलकल बग्ने सानो खोला र त्यही खोलाको पानीबाट घुम्ने घट्टका ढुङ्गाहरू कुनै समय यहाँको जीवनशैलीका पर्याय थिए । तर, समयको बदलिँदो बहाबसँगै अहिले यी परम्परागत पानीघट्टहरू इतिहासको पानामा सीमित हुने खतरामा पुगेका छन् ।

पुर्खौंदेखि स्थानीयको सेवा गर्दै आएका ‘तितुङको घट्ट’ र ‘गोलेको घट्ट’ अहिले संरक्षण र प्रयोगकर्ताको अभावमा सुस्ताउन थालेका छन् । केही दशक अघिसम्म गैँडाटारका यी घट्टहरूमा बिहान सबेरैदेखि अन्नको भारी बोकेर आउने गाउँलेहरूको ताँती लाग्थ्यो । घट्टको ढुङ्गा घुम्दा निस्कने मधुर धुन र पानीको छङछङ आवाजबीच गाउँका सुख–दुःख साटासाट हुन्थे ।

‘त्यो बेला घट्ट केवल अन्न पिस्ने ठाउँ मात्र थिएन, एउटा सामाजिक मिलन केन्द्र पनि थियो,’ स्थानीय एक वृद्ध सुकमाया गोले सम्झिन्छन्, ‘आज ती दिन कथा जस्ता भइसके ।’

गाउँ–गाउँमा विद्युतीय मिलहरूको विस्तार भएसँगै मानिसहरू छिटो र सहज सेवातर्फ आकर्षित भएका छन् । बिजुलीबाट चल्ने मिलमा केही मिनेटमै काम सकिने भएपछि घट्ट कुर्नुपर्ने झन्झटबाट मुक्त हुन खोज्दा परम्परा ओझेलमा परेको हो ।

चुनौती प्रविधिको मात्र छैन, प्रकृतिको पनि छ । घट्ट सञ्चालकहरूका अनुसार वर्षायाममा खोलामा आउने बाढीले मुहान र कुलो बगाइदिँदा घट्ट चलाउन निकै सास्ती हुने गरेको छ । पानीको मुहान अस्थिर हुँदा र हिउँदमा पानीको सतह घट्दा घट्टको ढुङ्गा घुम्न छाडेका छन् ।

विद्युतीय मिलको तुलनामा घट्टमा पिसिएको पिठो बढी पोषिलो र स्वादिलो हुने जनविश्वास छ । स्वास्थ्यविद्हरूका अनुसार घट्टमा बिस्तारै पिसिँदा अन्नको प्राकृतिक गुण र पौष्टिकता नष्ट हुँदैन, जसले गर्दा यो पूर्ण रूपमा ’अर्गानिक’ मानिन्छ । यही विशिष्टताका कारण पछिल्लो समय सचेत नागरिकहरू माझ पानी घट्टको महत्त्वबारे पुनः बहस सुरु भएको छ ।

स्थानीय बुद्धिजीवीहरू भन्छन्, ‘घट्ट हाम्रो मौलिक पहिचान र पुर्खाको प्रविधि हो । यसलाई आधुनिक मेसिनसँग मात्र तुलना गर्नु हुँदैन, यो हाम्रो संस्कृतिको जीवित अङ्ग हो ।’

परम्परागत घट्ट जोगाउन यहाका स्थानीय बासिन्दाले स्वास्थ्यका लागि भए पनि पुनः घट्टको प्रयोगमा रुचि देखाउने र स्थानीय सरकार र सरोकारवाला निकायले यसलाई ‘सांस्कृतिक सम्पदा’का रूपमा संरक्षण गर्दै पर्यटनसँग जोड्न सकिने गैडाटारका युवा उपेन्द्र गोलेले बताए । यदि बेलैमा यसतर्फ ध्यान दिइएन भने, भोलिका पुस्ताले गैँडाटारको पहाडी फेदीमा पानी बगेको त देख्नेछन्, तर त्यो पानीले परम्परा जोगाउन सक्ने छैन ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : ४२ बजे