Logo

मनोरञ्जन

‘बाः एक योद्धा ’मा पहिलो पटक एकसाथ देखिँदै झरना र सुहाना



काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो ।

विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो । यतिबेला काठमाडौंका विभिन्न स्थानमा चलचित्रको धमाधम छायांकन भइरहेको छ र झरना–सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन् ।
गत चैत्र ९ गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको थियो । ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ ।

संगीत र पाश्र्व गायनमा दर्जनौँ गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्साल यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दैछन् । लम्सालले निर्देशन मात्र नभई चलचित्रको कथा र पटकथा समेत आफैँले तयार पारेका हुन् ।संगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता र दृष्टिकोण कस्तो रहनेछ भन्नेमा प्रतीक्षा रहेको छ ।

चलचित्रको शीर्षकले नै संकेत गरेझैँ, यो सिनेमाले नेपाली परिवारमा ‘बुवा’को महत्त्व र उनको अस्तित्वलाई दर्शाउनेछ । एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई चलचित्रमा ‘योद्धा’को रूपमा चित्रण गरिएको छ।ग्रामीण परिवेशदेखि सहरी समाजसम्मका एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारी र भावनात्मक सम्बन्धको कथालाई यो चलचित्रले पर्दामा उतार्ने लक्ष्य राखेको छ ।

निर्माण टिमका अनुसार यो एक शुद्ध सामाजिक र भावनात्मक मनोरञ्जनात्मक सिनेमा हुनेछ । यस चलचित्रका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा निर्माण गरेका थिए । शिवराम श्रेष्ठको सिनेमाटोग्राफी रहने चलचित्रको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन् । चलचित्रको छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र प्राविधिक पक्षको काम हेरेर प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ११ : ०१ बजे