Logo

मुख्य समाचार

चैत्र २६ गतेदेखि होटल पौवामा ‘स्वाद उत्सव’



काठमाडौं । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालीले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

कम्पनीका अनुसार आगामी चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष परिकार, नेपाली रैथाने स्वाद तथा विविध आतिथ्य कार्यक्रममार्फत ग्राहकहरूलाई विशिष्ट अनुभव प्रदान गरिनेछ ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद ज्ञवालीले छोटो अवधिमै नेपाली हस्पिटालिटी क्षेत्रमा पौवाले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए ।

‘पहिलो दशकलाई हामीले संस्थागत बाल्यकालका रूपमा लिएका छौं। यस अवधिले हामीलाई अनुभव, आत्मविश्वास र स्पष्ट दिशा दिएको छ,’ उनले भने । उनका अनुसार आगामी दशकमा देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा शाखा विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने योजना कम्पनीले अघि सारेको छ ।

होटल पौवाका उपाध्यक्ष धुव्रराज न्यौपानेका अनुसार व्यवसायिक दृष्टिले १० वर्ष छोटो समय भए पनि होटल पौवाले यस अवधिमा हासिल गरेको विस्तार र संस्थागत विकास उल्लेखनीय बनेको छ । ‘सात कोठाबाट सुरु भएको यात्रा आज पाँचतारे होटल तथा रिसोर्ट अवधारणातर्फ अघि बढिरहेको छ,’ उनले भने, ‘सामूहिक लगानीको मोडेलमार्फत विकसित हुँदै गएको पौवा नेपाली चेन होटलको सम्भावना प्रमाणित गर्ने उदाहरण बनेको छ ।’

रुपन्देहीको सालझण्डीस्थित सात कोठे सानो घरबाट सुरु भएको होटल पौवाले छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा सञ्चालन गरिरहेको छ । ‘जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा भैरहवा शाखामा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ । उक्त सम्मेलन कम्पनीको दीर्घकालीन विस्तार रणनीति “मिसन १००” लाई सफल बनाउन केन्द्रित रहने उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।

कम्पनीका ब्रान्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीका अनुसार “मिसन १००” केवल संख्यात्मक विस्तारको लक्ष्य मात्र नभई व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको दीर्घकालीन रणनीति हो । हाल होटल पौवा सञ्जालमा झण्डै १००० भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ता रहेको कम्पनीले जनाएको छ । स्वदेशमै रोजगारी सिर्जना गर्दै नेपाली आतिथ्यलाई संस्थागत रूपमा सुदृढ बनाउने लक्ष्यसहित पौवा आफ्नो विस्तार यात्रालाई निरन्तर अघि बढाइरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १२ : ५२ बजे