Logo

मुख्य समाचार

रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना


२० चैत्र २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले रेडियो नेपालको ऐतिहासिक महत्व र वर्तमान सान्दर्भिकताबारे जोड दिएका छन् ।
रेडियो नेपाल को ७६औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालको मनोरञ्जन र सूचना प्रवाहको इतिहासमा रेडियो नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लोकतन्त्रको विकाससँगै यसको आवश्यकता निर्देशित भएको बताए । 
‘जब सूचना जनताको हक हो भन्ने मान्यता स्थापित भयो, त्यसपछि रेडियो नेपालको स्थापना भई यसले निरन्तर योगदान दिँदै आएको छ,’ उनले भने ।
उनले समयसँगै सञ्चार क्षेत्र, बजार तथा प्रसारण विधिमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै रेडियो नेपालले पनि आफूलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए । 
मन्त्री तिमिल्सिनाले संस्थाको दिगोपनाका लागि आत्मसुधार अपरिहार्य रहेको उल्लेख गर्दै बाह्य सहयोगभन्दा आन्तरिक सुधारमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, ‘रेडियो नेपालमा के गर्न जरुरी छ, सुधार गर्न के जरुरी छ, जनताको अपेक्षा के छ, अहिले र पहिलेको रेडियोमा धेरै फरक छ । बजार फरक भएको छ । प्रसारणको तरिका फरक भएको छ, आम सञ्चरप्रतिको बुझाई फरक भएको छ । हामी कति फरक भएका छौं आज भन्ने मूलभूत प्रश्न हो । हामीले वास्तवमा आफूलाई जोगाउन पनि आफैंले हो कसैले हामीलाई जोगाउँदैन ।’ 
यसै क्रममा उनले वर्तमान कार्यचापबारे पनि टिप्पणी गर्दै कार्यक्रमहरूमा सहभागी हुनुपर्ने बाध्यताले काममा प्रभाव पार्ने गरेको बताए ।
‘अहिले कामको चापले हामी च्यापिएका छौं । कार्यक्रममा जान नपरे पनि हुन्थ्यो जस्तो लाग्छ । काम मात्रै गरिरहन पाए हुन्थ्यो, परिणाम मात्रै दिइरहन पाए हुन्थ्यो भन्ने त्यो चिन्तनले पनि हामी थिचिएका छौं,’ उनले भने ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : २९ बजे