काठमाडौं । जीवनको सबैभन्दा कठिन मोडमा उभिएकी छन् ज्ञानी शाही । बर्दिया राजापुर घर भएकी शाही तीन वर्षदेखि स्तन क्यान्सर भएर संघर्ष गरिरहेकी उनी हरेक दिन पीडा, आशा र निराशाको बीचमा आफ्नो अस्तित्व बचाउन लडिरहेकी छन् ।
एक दिन अचानक थाहा भयो उनलाई स्तन क्यान्सर भएको रहेछ भनेर । त्यो क्षण उनका लागि सामान्य खबर थिएन, जीवन नै भत्किएको अनुभूति थियो । ‘आकाशबाट खसेजस्तो भयो,’ नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनी भन्छिन्, ‘त्यो बेला लाग्थ्यो म नै छैन, मेरो जीवन नै समाप्त भयो ।’
त्यसपछि सुरु भयो निरन्तर उपचारको यात्रा अस्पताल, औषधि, पीडा र खर्चको अन्तहीन चक्र । सुरुवातमा आफैंले जति सकिन्छ त्यति गर्दै आइन् । तर समयसँगै खर्च बढ्दै गयो, र अहिले अवस्था यस्तो आइपुगेको छ कि उपचारलाई निरन्तरता दिन पनि असम्भवजस्तै भएको छ ।
उनले भनिन्, ‘यस्तो भएको तीन साल भइसक्यो । एक्कासी थाहा भएको हो स्तन क्यान्सर भएको रहेछ भनेर । त्यो अवस्था सम्झिँदा साध्य नै छैन । उपचार त भइरहेको छ । अहिलेसम्म त खर्च आफैंले जुटाएको हो । अब खर्च धान्न नि सकिरहेको अवस्था छैन । सहयोग नभएर नै सहयोगको याचना लिएर मिडियामा आएको हुँ ।’
हरेक हप्ता उपचारका लागि अस्पताल धाउनुपर्ने बाध्यता छ । शरीर कमजोर हुँदै गएको छ, तर बाँच्ने चाहना अझै मरेको छैन । उनी अझै पनि आशामा छिन् सायद कसैले देख्ला, बुझ्ला, र हात थाम्ला ।
उनको छिमेकीहरू पनि चिन्तित छन् । ‘उहाँको अवस्था अत्यन्त नाजुक छ,’ छिमेकी तुलबहादुर शाही भन्छन्, ‘हामीसँग पनि धेरै सहयोग गर्ने क्षमता छैन । त्यसैले सबैलाई अपिल गर्छौं सानो भए पनि सहयोग गरिदिनुहोस् ।’
तुलबहादुर शाहीले देश विदेशमा रहेका सबैलाई थोरै भए पनि सहयोग गर्न अपिल गरेका छन् ।
उनले भने, ‘पीडित मेरो छिमेकी बहिनी हो । आर्थिक समस्या भएका कारणले गर्दा अलिकती केही सहयोग हुन्छ की भनेर हामी मिडियामा आएका हौं । हप्तामा एकचोटी किमो चढाउनुपर्छ । कतैबाट सहयोग हुँदैन । मिडियाकै माध्यमबाट भए पनि उहाँको जीवन रक्षाको लागि केही हुन्छ की भनेर अपिल गर्न आएका हौं । बहिनीको स्थिति एकदमै नाजुक छ । देश विदेशमा रहनु भएका सबैले थोरै भएपनि सहयोग गर्दिनुहोला । सम्पूर्णले सहयोग गरिदिनु भयो भने उहाँको जीवन बचाउन सक्छौं ।’
ज्ञानी शाही एक व्यक्तिको पीडा होइन, यो एउटा यस्तो संघर्ष हो । जहाँ आशा अझै बाँकी छ । मानवीयतामा विश्वास अझै जीवित छ । यदि हामी सबैले सानो–सानो साथ दिन सक्यौं भने, सायद उनको जीवनमा फेरि उज्यालो फर्कन सक्छ ।
२० चैत्र २०८२, शुक्रबार
253
Shares








प्रतिक्रिया