Logo

मुख्य समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन् ।

गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिर पुगेको बताइएको छ । यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा हेरिने गरिन्छ ।

हनुमान जयन्ती हिन्दु धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ । विशेषगरी शक्ति, भक्ति, साहस र निष्ठाको प्रतिकका रूपमा हनुमानलाई पुज्ने गरिन्छ । देशभरका मन्दिरहरूमा पूजा–अर्चना, भजन–कीर्तन तथा धार्मिक कार्यक्रमहरू आयोजना हुने गर्छन् भने भक्तजनहरू बिहानैदेखि उपवास बस्दै मन्दिरमा दर्शनका लागि पुग्ने परम्परा रहेको छ ।

आजको दिन पशुपतिनाथ क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको ठुलो भीड लागेको थियो । सुरक्षाको विशेष व्यवस्था मिलाइएको थियो भने मन्दिर परिसर व्यवस्थित र अनुशासित देखिएको थियो । गृहमन्त्री गुरुङको उपस्थितिले सुरक्षा निकायहरू थप सक्रिय देखिएका थिए ।

दर्शनपश्चात् गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गर्नुभएको बताइएको छ । साथै उनले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीहरूको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशनसमेत दिएका हुन् ।

यस क्रममा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले मन्दिर क्षेत्रको वर्तमान अवस्था, व्यवस्थापनका चुनौतीहरू तथा भइरहेका विकास निर्माणका कामबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए । गुरुङले धार्मिक स्थलहरूको संरक्षण र प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

गृहमन्त्री गुरुङको आजको पशुपतिनाथ दर्शनलाई धार्मिक आस्था र सांस्कृतिक सम्मानसँगै आफ्नो कार्यकालको सुरुवातमा सकारात्मक सन्देश दिने कदमका रूपमा पनि लिइएको छ । साथै, हनुमान जयन्तीजस्तो पवित्र दिनमा गरिएको दर्शनलाई अझ विशेष र अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ११ : ०३ बजे