Logo

Breaking News 1

रामेछापबाट २ हजार ४६१ विद्यार्थी एसईई परीक्षामा सहभागी



रामेछाप । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रामेछाप जिल्लाबाट यस वर्ष कुल २ हजार ४६१ जना विद्यार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार नियमिततर्फका परीक्षार्थीसँगै १५५ जना प्राविधिक धारका विद्यार्थी तथा २०१ जना ग्रेड वृद्धि परीक्षार्थी समेत परीक्षामा सहभागी भएका हुन् ।

इकाई प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार यस वर्ष जिल्लाभर १४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । अघिल्लो वर्ष १९ वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो भने २०८० सालमा २४ वटा परीक्षा केन्द्र कायम गरिएको थियो । यस वर्ष परीक्षा केन्द्रको सङ्ख्या घटाइए पनि व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको उनले जानकारी दिए ।

यस वर्ष उमाकुण्ड, गोकुलगंगा, खाँडादेवी, दोरम्बा सैलुङ र सुना पति गाउँपालिका मा एक–एक वटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । त्यसै गरी लिखुतामाकोशी गाउँपालिका मा धोबी र खिप्तीमा गरी दुई वटा केन्द्र निर्धारण गरिएको छ ।

मन्थली नगरपालिकामा पाँच वटा परीक्षा केन्द्र तोकिएका छन् । फुलासी, नाग कन्या माध्यमिक विद्यालय, मन्थली माध्यमिक विद्यालय (क र ख) तथा मन्थली क्याम्पसमा परीक्षा केन्द्र कायम गरिएको छ । यस्तै रामेछाप नगरपालिकामा दुई वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

प्राविधिक धारतर्फ जिल्लाको एक मात्र परीक्षा केन्द्र मन्थलीस्थित मन्थली माध्यमिक विद्यालय मा राखिएको छ । साथै कम ग्रेड ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा केन्द्र मन्थली नगरपालिका–१ स्थित नाग कन्या माध्यमिक विद्यालय, गडवारीमा निर्धारण गरिएको छ ।

इकाईका अनुसार परीक्षा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन १४ जना केन्द्राध्यक्षलाई अभिमुखीकरण गरी परिचालन गरिएको छ । यस वर्ष एसइई परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन जिल्लाका सबै सरोकारवाला निकाय परिचालित भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ९ : ५१ बजे