काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा पूर्वराष्ट्रपति भण्डारीले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गठन गरेको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन कार्यान्वयन गर्ने वर्तमान सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएकी हुन् ।
उक्त आयोगको प्रतिवेदन पूर्ण नभएको विभिन्न अध्ययनहरूले देखाएको उल्लेख गर्दै सरकार गठन भएको पहिलो दिनमै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिनु हतारपूर्ण भएको बताएकी छन् । साथै, सोही निर्णयअन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषय अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने खालको भएको उनले उल्लेख गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीका अनुसार कुनैपनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ । हतारमा गरिएका निर्णयहरूले विधिको शासनप्रति जनविश्वास कमजोर पार्ने र मुलुकमा अस्थिरताको जोखिम बढाउने चेतावनी उनले दिएकी छन् ।
सुशासनलाई प्राथमिकता दिएको वर्तमान सरकारबाट यस्तो कदम चालिनु दुःखद् भएको बताउँदै उनले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णय पुनर्विचार गरी फिर्ता लिन आग्रह गरेकी छन् । साथै, सरकारलाई संयमता अपनाई विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणमा गम्भीर हुन अपिल गरेकी छन् ।










प्रतिक्रिया