काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले आज (चैत १३) दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाहले शपथलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । रास्वपाले प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद्को नाम टुंगो लगाएको जनाएको छ ।
नवगठित मन्त्रिपरिषद्मा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री र शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने तय भएको छ । सोविता गौतमलाई कानुन मन्त्रालय, सस्मित पोखरेललाई शिक्षा मन्त्रालय र सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
त्यस्तै, प्रतिभा रावलले सामान्य प्रशासन, भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछिन् भने सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नेछिन् । अमरेशकुमार सिंह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने सूचीमा छन् ।
गनेश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, डा. विक्रम तिमल्सिनालाई सञ्चार तथा सूचना मन्त्रालय र दीपक साहलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । गीता चौधरी कृषि तथा पशुपन्छी मन्त्री बन्ने तय भएको छ ।
प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफैं सम्हाल्ने जनाइएको छ ।
१३ चैत्र २०८२, शुक्रबार
161
Shares









प्रतिक्रिया