Logo

Breaking News 1

एसईईमा मधेश प्रदेशबाट ८७,५९१ जना विद्यार्थी सहभागी हुने



जनकपुर । यस वर्षको एसईई परीक्षामा मधेश प्रदेशबाट जम्मा ८७,५९१ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । मेधश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशद्वारा बिहीबार जनकपुरधाममा आयोजित एसईई २०८२ संचालन÷व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय एकदिने अभिमुखिकरण कार्यक्रममा प्रस्तुत गरिएको विवरण अनुसार मधेश प्रदेश भरिका १३१६ वटा विद्यालयका जम्मा ८७,५९१ जना विद्यार्थीहरु यस वर्ष परीक्षामा सहभागी हुने भएको छ ।

निर्देशनालय निर्देशक महेन्द्र महतोले प्रस्तुत गरेको विवरण अनुसार यस वर्ष सप्तरीबाट १६२ वटा विद्यालयका जम्मा ९२७६ जना विद्यार्थीहरु एसईई दिने भएको छ । त्यस्तै सिरहाबाट १९७ विद्यालयका ११०३८ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुने भएका छन् ।

त्यस्तै, धनुषाका २०३ वटा विद्यालयका जम्मा १३,२६२ जना विद्यार्थीहरुले एसईई परीक्षा दिने भएका छन् । यता, महोत्तरीको १६० वटा विद्यालयका जम्मा ११,३५१ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन सलार्हीको १६४ वटा विद्यालयका जम्मा ११,३७१ जना विद्यार्थीहरुले एसईईको परीक्षा दिने भएका छन् ।

त्यस्तै, रौतहटको १२२ वटा विद्यालयका जम्मा ९७७७ जना विद्यार्थीहरुले एसईई परीक्षा दिने भएका छन भने बाराका १५५ वटा विद्यालयका जम्मा १०,८१३ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन् । यता, पर्साको १५३ वटा विद्यालयका जम्मा १०,७०३ जना विद्यार्थीहरुले एसईई परीक्षा दिने निर्देशनालयद्वारा प्रस्तुत गरिएको विवरणमा उल्लेख रहेको छ ।

विवरण प्रस्तुत गर्दै निर्देशक महतोले ८ वटै जिल्लामा कुल ११,७८९ जना कर्मचारी परीक्षामा खटिने जानकारी दिए । जसमध्ये, ८ वटै जिल्लामा रहेको जम्मा २९९ वटा परीक्षा केन्द्रमा २९९ जना केन्द्राध्यक्ष र ४३३ जना सहायक केन्द्राध्यक्ष रहेका छन् । ८ वटै जिल्लामा कुल ४,२३५ जना निरीक्षक रहेका छन् भने ७३४ जना परीक्षा सहायक रहेका छन् । त्यस्तै, ८ वटै जिल्लाका परीक्षा केन्द्रहरुमा कुल ४,४८५ जना सुरक्षाकर्मीहरु खटिने निर्देशक महतोले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  १ : २२ बजे