काठमाडौँ। बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगरले शुक्रबार आफ्नो ३५औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिबोल भट्टराईको सभापतित्व तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो।

समारोहको उद्घाटन प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी “Baneshwor Campus Journal of Academia” (Volume 4) विमोचनमार्फत गरिएको थियो। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीहरू सुरजचन्द्र लामिछाने र लक्ष्मण लम्साललगायतको उपस्थिति रहेको थियो।
क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले २०४७ सालदेखि सुरु गरेको यात्रा हाल करिब ३ हजार विद्यार्थी र आफ्नै भौतिक पूर्वाधारसहित विस्तार भएको जानकारी दिए। क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट QAA प्रमाणपत्र प्राप्त गरेको, ८५ वटा ICT युक्त कक्षाकोठा सञ्चालनमा रहेको र आर्थिक वर्ष २०८१/८२ मा ४३ लाख रुपैयाँभन्दा बढी सञ्चित बचत रहेको उल्लेख गरियो।


समारोहमा दीर्घ सेवा गर्ने प्राध्यापकहरूलाई ‘सेवा सम्मान’ र ‘दीर्घसेवा सम्मान’ प्रदान गरियो भने विद्यावारिधि हासिल गर्ने तथा उत्कृष्ट नतिजा दिलाउने प्राध्यापकहरूलाई समेत सम्मान गरिएको थियो। शैक्षिक सत्र २०८०/८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति प्रदान गरिएको क्याम्पसले जनाएको छ।
प्रमुख अतिथि उपकुलपति अर्यालले विश्वविद्यालयको नतिजा प्रकाशन प्रणाली सुधार गरिएको जानकारी दिँदै स्नातक तहको नतिजा ९० दिनभित्र र स्नातकोत्तर तहको एक महिनाभित्र प्रकाशन गर्ने व्यवस्था मिलाइएको बताए। उनले क्याम्पसलाई सेमेस्टर प्रणालीमा सहभागी हुन आग्रह पनि गरे।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने राष्ट्रिय कलाकार रचना रिमालको प्रस्तुति पनि समावेश गरिएको थियो। अन्त्यमा अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गरिएको क्याम्पसले जनाएको छ।










प्रतिक्रिया