Logo

राजनीति

नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी



काठमाडौं । आज गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल लगायत मन्त्रीहरुको जम्बो टोलीले संसद भवन अनुगमन गरेको छ ।

शुक्रबार मन्त्रीहरुको जम्बो टोलीले नयाँ सांसदहरुको पहिलो बैठकका लागि तयार गरिरहेको सभाहलको अनुगमन गरेका हुन् ।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा निर्माणधिन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने भएको हो ।

सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका कामहरू भईरहेका छन् ।

अनुगमनमा गृहमन्त्री अर्याल, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाई, अर्थमन्त्री रामेश्वर खनाल, स्वास्थ्यमन्त्री डा.सुधा शर्मा, कृषिमन्त्री डा.मदन परियार, परराष्ट्रमन्त्री बालानन्द शर्मा, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ, उद्योगमन्त्री अनिल सिन्हा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामलगायतको सहभागिता थियो ।

अनुगमनमा गृहमन्त्री अर्यालले नया संसद भवनमा निर्माण भइरहेको सभा हल हाल शपथको लागि मात्रै नभई अधिवेशन नै सञ्चालनका लागि पनि तयारी अवस्थामा रहेको बताए ।

‘यहाँ सबै तयारी भइरहेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटाको नै संयुक्त गर्नुपर्ने अवस्था आइहाल्यो भने पनि त्यसको लागि सबै तयारी छ भनेर निर्माण पक्षले भन्नुभएको छ । पछाडिपट्टी कार्यव्यवस्था समितिको बैठक बस्नलाई र सभामुखज्यूलाई पनि ठाउँ बनिसकेको देखिएको छ । बैठक सञ्चालनका लागि पनि अहिलेलाई तयार गर्नुभएको छ । हाल शपथको लागि मात्रै नभई अधिवेशन नै सञ्चालन गर्नुपर्ने भयो भने पनि त्यसको लागि तत्कालको लागि तयारी अवस्थामा रहेको देखिन्छ,’ उनले भने ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ६ : ०६ बजे