बाजुरा । बाजुराको कर्णाली पारीको एक मात्र स्थानीय तह स्वामिकार्तिक खापर गाउँपालिकामा कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको छ । सोही पालिकाको ४ देउरामा बुधबार कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको हो ।
‘कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२’ स्थानीय बालीको संरक्षण, प्रवद्र्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै सम्पन्न भएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।
गाउँपालिकाको आयोजना तथा परियोजनाको सह–आयोजनामा सञ्चालन गरिएको कृषि मेला प्रदर्शनी कार्यक्रमले अग्रानीक बस्तुहरूको उत्पादन,प्रशोधन र बजारीकरणमा सहज पुर्याउने भएको छ । उक्त कार्यक्रमले कृषकलाई प्रोत्साहन मिल्नुका साथै स्थानीय उत्पादनको पहिचानमा समेत टेवा पुग्ने विश्वास लगिएको छ ।
मेलामा कृषकहरूले उत्पादन गरेका अग्र्यानिक रैथाने बाली,विभिन्न विउविजन, परम्परागत खाद्य परिकार, निगालोबाट बनेका सर-सामाग्री लगायतको प्रदर्शनी गरिएको थियो । विभिन्न स्टलमा फरक-फरक किसिमका खाद्य बालीनाली राखिएका थिए ।
कृषि मेला कार्यक्रमले पालिकामा सक्रिय रूपमा कृषि व्यवसाय गरिरहेका कृषकहरुलाई राहत र प्रोत्साहन मिलेको कृषि शाखा प्रमुख विनोद शाहीले बताए । उनका अनुसार,यस्ता कार्यक्रमले कृषकहरूको मनोबल बढ्ने र उनीहरू थप कृषि खेती तर्फ आकर्षित हुने अपेक्षा रहेको जानकारी दिए ।
कार्यक्रममा महिला देउडा,नृत्य सहित विविध सांस्कृतिक प्रस्तुति समेत राखिएका थिए । उत्कृष्ट खाद्य वाली प्रदर्शनी गर्ने कृषकलाई नगद सहित प्रमाण पत्रले सम्मानित समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी भण्डारी बुढाले पालिकामा कृषि उपज बस्तुहरूको उत्पादनमा जोड दिई गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाइने बताइन् ।
उनले पालिकाका कृषकलाई विभिन्न समयमा कृषि सम्बन्धी तालिम,विभिन्न विउविजन र सफल कृषकलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आएको बताइन् । पालिकाले कृषि क्षेत्रको लगानीमा बजेट विनियोजन समेत गर्दै आएको बताएकी हुन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी भण्डारी बुढा,विभिन्न वडाका वडाअध्यक्ष, पालिकामा कार्यरत कर्मचारी,विभिन्न शाखाका प्रमुख, बुढिनन्दा, जगन्नाथ तथा हिमाली गाउँपालिकाका कृषि शाखा प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण स्याउ तथा ओखर जोन पिलुचौर कार्यालय प्रमुख शेर बहादुर केसी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि,कृषक लगायत पत्रकारको सहभागिता रहेको थियो ।










प्रतिक्रिया