बाजुरा । बाजुरामा ११५ मतदान केन्द्रको मतपेटिका सुरक्षाकर्मीको विशेष निगरानीमा आज बिहान पाँच बजेसम्म सदरमुकाम मार्तडी पुगेका छन् ।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन पश्चात् यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्र मध्ये तिन बाहेक अरू सबै केन्द्रका मतपेटिका पुगेका हुन् ।
हिमाली गाउँपालिका–३ मा रहेको हिमाल भक्ति आधारभूत विद्यालय गुम्बाको मत पेटिका बिहीबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको थियो । ११५ मतदान केन्द्रको मतपेटिका आएपछि बाँकी रहेका तीन मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने छ ।
हिमाली गाउँपालिका–३ रहेको गङ्गा आधारभूत विद्यालय बौडी,वडा नम्बर १ मा रहेको सुनन्दा मा।वि। बाम र विच्छ्या मावि विच्छ्याको मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले बताए ।
सडक पहुँच भएका क्षेत्रका मतपेटिका आएर मतगणना स्थल जिल्ला समन्वय समिति बाजुरामा राखिएका छन् । तीन मतदान केन्द्रको मतपेटिका आएमा आज नै सर्वदलीय बैठक बोलाएर मत गणनाको तयारी गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका थिए । कुल मतदाताको ४६ हजार २३२ मत खसेको छ । तीमध्ये ५२ प्रतिशत मत खसेको हो । प्रतिनिधि सभा सदस्यका लागि एक स्वतन्त्र सहित सात राजनीतिक दल गरेर आठ जना उम्मेदवार चुनावी मैदानमा छन् ।










प्रतिक्रिया