काठमाडौं । फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् ।
सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण हो ।
थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा “Report” गर्न अपिल गरेका छन्। उनले विशेष गरी Facebook, TikTok, YouTube लगायत माध्यमहरूमा फैलाइने अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन आग्रह गरे।
“कुनै पनि सामग्री शेयर गर्नु अघि एक छिन रोकिनुहोस्, तथ्य जाँच गर्नुहोस्,” थापाको आग्रह छ । उनका अनुसार अत्यधिक भडकाउ र भावनात्मक सामग्री प्रायः भ्रामक हुन सक्छ र यसले मतदातालाई भ्रमित पार्ने उद्देश्य राखेको हुन्छ ।
निर्वाचनको संवेदनशील समयमा गलत सूचना फैलाउने प्रवृत्तिले स्वस्थ प्रतिस्पर्धालाई कमजोर बनाउने भन्दै उनले सत्य, विवेक र नागरिक सचेतनाले मात्र यस्ता भ्रमलाई परास्त गर्न सकिने बताएका छन् ।
लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले सबै समर्थक तथा शुभेच्छुकलाई जिम्मेवार सामाजिक सञ्जाल प्रयोगमार्फत सत्यको पक्षमा उभिन आह्वान गरेका छन् ।










प्रतिक्रिया