काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकोले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदाताहरूलाई आव्हान गरेका छन् ।
गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकारीको टोलीलाई निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमनका लागि बाँकेको नेपालगन्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुग्नुभएका मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदाताहरूलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आव्हान गरेका हुन् ।
मन्त्री अर्यालले निर्वाचनमा कुनै पनि किसिमको गैर कानुनी क्रियाकलाप भएमा वा गराइएमा दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने बताउनुभयो। साथै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको सुरक्षालाई समेत प्राथमिकतामा राख्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए ।
अनुगमन तथा निरीक्षणको क्रममा मन्त्री अर्याललाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको समग्र सुरक्षा अवस्थाबारे प्रस्तुति गर्नुभयो। जिल्लाको वस्तुस्थितिबारे जानकारी लिईसकेपश्चात मन्त्री अर्यालले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आफूले नेतृत्व गरिरहेको जिल्लाको सुरक्षा अवस्था विश्लेषण गरी सुरक्षा योजना प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिए ।
स्थलगत अनुगमन तथा निरीक्षण पश्चात् सञ्चार कर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री अर्यालले देशव्यापी रूपमा निर्वाचनको माहौल उत्साहजनक देखिएको बताउँदै निर्वाचनको लागि सुरक्षा तयारी सुदृढ बनाइएको जानकारी गराए ।
अनुगमनको क्रममा बाँकेको नेपालगन्ज भएको कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका लुम्बिनी प्रदेश इन्चार्ज, जिल्ला सुरक्षा समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको गृह मन्त्रालयका सह प्रवक्ता रमा आचार्यले बताए ।










प्रतिक्रिया