Logo

Breaking News 1

सभ्य र सुरक्षित होली मनाउन काठमाडौं महानगरको आग्रह


१८ फाल्गुन २०८२, सोमबार  

23
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले फागु पूर्णिमा (होली)को अवसरमा सम्पूर्ण महानगरवासीमा शुभकामना व्यक्त गर्दै सभ्य, सुरक्षित र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ ।

महानगरपालिकाले शुभकामना सन्देश जारी गर्दै रङहरूको पर्व होलीले समाजमा आपसी सद्भाव, मेलमिलाप र सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ । साथै यस पर्वले सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गरिएको छ ।

महानगरले स्वास्थ्यमा नकारात्मक असर पार्ने रसायनिक रङ, फोहोर पानी तथा मोबिल जस्ता पदार्थ प्रयोग नगर्न आग्रह गरेको छ । प्राकृतिक र सुरक्षित रङ प्रयोग गर्न तथा पानीको अपव्यय नगर्न पनि अनुरोध गरिएको छ ।

यस्तै, कसैको इच्छा विपरीत रङ नदल्न, अपरिचितमाथि लोला प्रहार नगर्न र अरूको निजी स्वतन्त्रता तथा भावनाको सम्मान गर्न महानगरपालिकाले सचेत गराएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पैदलयात्री लक्षित उच्छृङ्खल गतिविधि नगर्न पनि अपिल गरिएको छ ।

सवारी चलाउँदा ट्राफिक नियम पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र स्थानीय प्रशासनले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न महानगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ९ : ४७ बजे