काठमाडौं। सिन्धुलीको खुर्कोटबाट प्रहरीले ५७ हजार अमेरिकी डलर बरामद गरेको छ। काठमाडौंबाट झापा लैजाँदै गरिएको उक्त रकमसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।
गएराति करिब ११ बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका–माथिल्लो बजारमा राखिएको प्रहरी चेकपोस्टमा सवारी जाँचका क्रममा बा १६ च ८०४८ नम्बरको टाटा सुमोबाट उक्त रकम बरामद गरिएको हो।
प्रहरीका अनुसार बरामद गरिएको डलर झापा मेची नगरपालिका–३ का युवराज नेवारको झोलाबाट फेला परेको हो। नेवारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।
प्रारम्भिक सोधपुछका क्रममा नेवारले काठमाडौंमा एक अपरिचित व्यक्तिले झापा पुर्याइदिनु भन्दै झोला दिएको बताएका छन्। झापामा उक्त रकम कसलाई बुझाउने भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताएका छन्।
प्रहरीले नेवार भरिया (कुरियर) भएको आशंका गरेको छ। अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उक्त रकम हुण्डीमार्फत नेपाल भित्रिएको हुन सक्ने आशंका गरिएको छ।
यति ठूलो मात्रामा विदेशी मुद्रा किन झापा लैजाँदै थियो भन्ने विषयमा भने केही खुलेको छैन। प्रहरीले झापा हुँदै भारत लैजाने वा चुनावी प्रयोजनका लागि रकम लगिँदै गरेको हुन सक्ने आशंका गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया