Logo

खेलकुद

टी–२० विश्वकपका लागि भारतको टोली घोषणा, गत संस्करणका सात खेलाडी बाहिर



काठमाडौं । साबिक विजेता भारतले आउँदो वर्ष आयोजना हुने आईसीसी ट्वान्टी–२० विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । भारतीय टिमका मुख्य प्रशिक्षक गौतम गम्भीरले शनिबार टोली सार्वजनिक गरेका हुन् ।

घोषित टोलीमा उपकप्तान शुभमन गिल समावेश छैनन् । उनको स्थानमा अक्षर पटेललाई उपकप्तानको जिम्मेवारी दिइएको छ । पछिल्लो समय टिममा रहेका जितेश कुमार पनि छनोटमा परेनन् । गिल नहुँदा ओपनर तथा विकेटकिपर ब्याटर ईशान किशन टोलीमा फर्किएका छन् ।

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकप भारतले रोहित शर्मा कप्तान रहेको टोलीले जितेको थियो । आफ्नै देश र श्रीलंकामा हुने आगामी संस्करणका लागि घोषित टोलीमा गत संस्करण खेलेका सात खेलाडी समावेश छैनन् ।

सन् २०२४ पछि तत्कालीन कप्तान रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । अघिल्लो संस्करणका ऋषभ पन्त, मोहम्मद सिराज, यशस्वी जयसवाल र युजवेन्द्र चहल यसपालि टोलीमा स्थान बनाउन सकेनन् ।

भारतीय टोली:
सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु सामसन (विकेटकिपर), ईशान किशन (विकेटकिपर), तिलक वर्मा, अक्षर पटेल (उपकप्तान), हार्दिक पन्ड्या, शिवम दुवे, रिंकु सिंह, वासिङ्टन सुन्दर, हर्षित राना, कुलदीप यादव, वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अर्शदीप सिंह ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १० : ०२ बजे