काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुद क्षेत्रको समयानुकुल पुनःसंरचना र विकासका हरेक बहसमा खरो रुपले उत्रने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार आफ्नो कार्यकाल सकिएपछि बिदाइ कार्यक्रममा उनले चार वर्षमा खेल क्षेत्रको गहिराइमा पुगेर प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको भन्दै यस क्षेत्रको विकास र विवादहरुको निरुपणको विषयमा खरो रुपले उभिने बताए ।
उनले भने, ‘चार वर्षमा गहिराइमा पुगेको छु र प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको छु । नेपाली खेलकुदको समयानुकुलको पुनःसंरचना, नेपाली खेल क्षेत्रको प्राथमिकता र यसका विवादहरुको निरुपणको विषयमा साथै विकासका लागि चालिनुपर्ने सबै बहसका क्षेत्रहरुमा म खरो रुपले उत्रने छु । म यो प्रतिबद्धता उद्घोष गर्न पनि यहाँ उभिएको छु ।’
यस्तै, उनले खेलकुदमा नयाँ नयाँ खुड्किलाहरु, उचाईहरु हासिल गर्नका लागि सधैँ प्रयत्न गरेको पनि बताए ।
हरेक कामको सफलताको हिस्साहरुमा आफ्नो हिस्सा खोज्ने स्वभाव नरहेको पनि उनको भनाइ छ ।
साथै, उनले चार वर्षको सफल कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ बाँकी समय पनि नेपाली खेल जगतको लागि फेरि नयाँ भूमिकाका साथ सहयात्रा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।










प्रतिक्रिया