काठमाडौं । भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ ।
उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ ।
चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई मार्मिक रूपमा चित्रण गर्छ ।
सङ्घर्ष, बिछोड र परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतार–चढावका बीच केही हल्का हास्य तत्त्व पनि समावेश गरिएकोले कथा गम्भीर भएपनि दर्शकलाई जोडेर राख्छ ।
‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रहरूमा रिलिज भएको छ । भारतका यी क्षेत्रहरूमा नेपाली चलचित्रको दर्शक वर्ग बलियो रहेकोले ‘धागो’ ले उल्लेख्य ओपेनिङ पाउने अपेक्षा गरिएको छ ।
यस्तै, नेपालमा क्युएफएक्स सिनेमा, वन सिनेमा, आईएनआई सिनेमालगायत देशभरका हलमा रिलिज भएको छ ।
‘धागो मा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन् । साथै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापालगायतका कलाकारले साथ दिएका छन् । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन् । चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम.घोघले गरेका हुन् ।
फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसद्वारा निर्माण गरिएको यस चलचित्रमा उमा थापा, उत्तम थापा र उदिप थापा निर्माताको भूमिकामा छन्। नेपालमा आरआर फिल्म्सले वितरण गरिरहेको छ।










प्रतिक्रिया