विराटनगर । कोशी प्रदेशलाई निकट भविष्यमा खोरेत रोगमुक्त प्रदेश बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले डिजिटल प्रणालीमा आधारित निःशुल्क खोप अभियान सुरु गरेको छ ।
विराटनगर महानगरको आयोजना तथा प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहकार्यमा सुरु गरिएको यो अभियानले महानगरलाई ‘खोरेतमुक्त’ नमूना पालिका बनाउने उद्देश्य राखेको छ ।
अभियानको औपचारिक शुभारम्भ विराटनगर–१२ को बञ्जरा एग्रो फार्ममा गाईलाई खोरेतविरुद्ध खोप लगाएर गरिएको हो । कार्यक्रमको अध्यक्षता आर्थिक विकास समितिका संयोजक तथा वडा नं. १९ का अध्यक्ष श्याम घिमिरेले गरे ।
भेटनरी अस्पतालका प्रमुख डा.अजयकुमार साहका अनुसार महानगरमा रहेका २१ हजार ६ सय गाईभैंसीमध्ये पहिलो चरणमा १६ हजार ६ सयलाई खोप लगाइनेछ । खोप कार्य भ्याक्सिनेटरमार्फत गरिने र तथ्यांक डिजिटल प्रणालीमा अभिलेख राखिने व्यवस्था गरिएको उनले बताए ।
मोरङभर ३ लाख ८० हजार डोज गाई–भैंसीका लागि र ५६ हजार डोज बंगुरका लागि वितरण गरिने लक्ष्य छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. सुशीलकुमार अधिकारीले प्रदेशका सबै १३७ वटै पालिकामा अभियान विस्तार हुने बताए।
उनका अनुसार इलाम पहिले नै खोरेतमुक्त घोषणा भइसकेको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरमा तयारी तीव्र पारिएको छ ।
‘यो अभियानले पशु स्वास्थ्य मात्र सुधार्दैन, किसानको आर्थिक सुरक्षाको ढोका खोल्नेछ,’ उनले भने ।
प्रदेश सरकारका अधिकारीहरूका अनुसार यो अभियान नेपालकै पहिलो ‘डिजिटल पशु स्वास्थ्य रेकर्ड प्रणाली’मा आधारित प्रयास हो । यसले हरेक चौपायाको खोप विवरण र स्वास्थ्य इतिहास सुरक्षित गर्न सहयोग पु¥याउनेछ ।
महानगरका कृषि शाखा प्रमुख हीरा यादवले १९ वटै वडामा अभियान निरन्तर सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार यसबाट कृषकको आम्दानीमा स्थायित्व र पशुपालन व्यवसायमा विश्वास बढ्नेछ । कोशी प्रदेश सरकारको दीर्घकालीन योजना अनुसार, आगामी वर्षभित्र प्रदेशका सबै जिल्लालाई क्रमिक रूपमा ‘खोरेतमुक्त प्रदेश’ घोषणा गर्ने तयारी छ ।










प्रतिक्रिया