काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक पुस्तकालयको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्।
भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले प्रविधिको विस्तारसँगै पुस्तक पढ्ने बानी हराउँदै गएकामा चिन्ता व्यक्त गरे। उनले युवालाई प्रविधियुक्त पुस्तकालयसँग जोड्न यस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताए।
मुख्यमन्त्री बानियाँले सार्वजनिक पुस्तकालयलाई अन्तर्राष्ट्रियस्तरको पुस्तकालयका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै पाठकको अभिरुचिअनुसार पुस्तक तथा शैक्षिक सामग्री अद्यावधिक गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा समाजका अध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेलले अघिल्ला वर्षहरूमा संघीय सरकारबाट सहयोग प्राप्त भए पनि हाल सहयोग नहुँदा पुस्तकालय सञ्चालनमा समस्या भएको बताए। उनले पुस्तकालयको विकासका लागि प्रदेश र स्थानीय सरकारको समन्वय आवश्यक रहेको उल्लेख गरे।
शिक्षा मन्त्रालयअन्तर्गत केशर पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले सार्वजनिक पुस्तकालयलाई प्रदेश सरकारकै पुस्तकालयका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
प्रदेशसभा सदस्य तथा पुस्तकालय समाजकी उपाध्यक्ष याङकिला शेर्पासहित अन्य वक्ताहरूले तीनै तहका सरकारले पुस्तकालयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले संस्थापक सदस्य जुजुभाइ डङ्गोलद्वारा लिखित ‘पुस्तकालय : अध्ययन संस्कृतिको आधार’ पुस्तक विमोचन गरे। डङ्गोलले काठमाडौँका बासिन्दामा अध्ययन संस्कृतिको विकास गर्न २०६० सालमा सार्वजनिक पुस्तकालय स्थापना गरिएको जानकारी दिए।
पुस्तकालयका प्रशासक लीलाप्रसाद भट्टराईका अनुसार दैनिक दुई सयभन्दा बढी पाठक अध्ययनका लागि पुस्तकालय आउने र करिब ५० जना घरमा पुस्तक लिएर पढ्ने गर्छन्।
कार्यक्रममा पूर्वमन्त्री डा. नारायण खड्का, पूर्वराज्यमन्त्री भक्तबहादुर बलायर, पूर्वसचिव किशोर थापा, पूर्वराजदूतद्वय राजेश्वर देवकोटा र डा. मोहनप्रसाद लोहनीलगायत सहभागी थिए।










प्रतिक्रिया