रौतहट । रौतहट प्रहरीले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदी सहित विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा गौर कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा चन्द्रपुर–१ बस्ने ४७ वर्षीय नागेन्द्र माझीलाई पक्राउ गरिएको र देवाही गोनाही–६ का सुधीरकुमार राम भने स्वेच्छाले कारागार कार्यालय गौरमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले बताए ।
रौतहट जिल्ला अदालतको २०६१ सालको फैसला अनुसार १ वर्ष १ महिना १५ दिन कैद र १ लाख ५४ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भएका राजदेवी नगरपालिका–८ का दिनेश कुमार चौधरी कलवारलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए ।
ईशनाथ नगरपालिका–३ का २१ वर्षीय मनिष कुमार साहलाई १८ गते झाझ पुलनजिक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै ईशनाथ नगरपालिका–७ का जादोलाल साहलाई अदालतको फैसलाअनुसार एक महिनाको कैद सजाय भएपछि पक्राउ गरी अदालतमा उपस्थित गराइएको रौतहट प्रहरीले जनाएको छ ।
यी लगायतका विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।










प्रतिक्रिया