काठमाडौं । न्युयोर्क सहरको मेयरमा ३४ वर्षीय राज्य विधायक जोहरान क्वामे ममदानी निर्वाचित भएका छन् । उनी सहरका १११औँ मेयरका रूपमा निर्वाचित भएका हुन् ।
ममदानी न्युयोर्क सिटीका इतिहासमा पहिलो मुस्लिम र पहिलो दक्षिण एसियाली मेयर बनेका छन् । उनी १९औँ शताब्दीदेखि सहरका सबैभन्दा युवा मेयर पनि हुन् ।
ब्रुकलिनदेखि क्विन्ससम्म फैलिएको क्षेत्रमा भएको निर्वाचनमा ममदानीले डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका थिए । उनले डेमोक्रेटिक प्राइमरीमा पूर्वगभर्नर एन्ड्रयू एम. कुमोलाई पराजित गरेका थिए । रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा तेस्रो स्थानमा रहे ।
सहरभर करिब २० लाख मतदाताले मतदान गरेका थिए, जुन सन् १९६९ यता नगर निर्वाचनमा भएको सबैभन्दा उच्च सहभागिता हो ।
युगान्डामा भारतीय मूलका अभिभावकबाट जन्मिएका ममदानी क्वीन्सका प्रतिनिधि हुन् । किफायती जीवन, सामाजिक सञ्जालमा सक्रियता र आप्रवासी समुदायमा लोकप्रिय अभियानका कारण उनी युवा मतदाताबीच प्रभावशाली बनेका थिए ।
ममदानीले धनीमाथि कर बढाउने, बस र बाल हेरचाह सेवा निःशुल्क गर्ने, भाडा स्थिर अपार्टमेन्टमा भाडा फ्रिज गर्ने र प्रहरी विभागमा सुधार गर्ने नीति अघि सारेका छन् ।
उनले जनवरी १ मा पदभार ग्रहण गर्नेछन् । राजनीतिक विश्लेषकहरूले उनलाई सहरको परम्परागत राजनीतिक र व्यापारिक प्रतिष्ठानविरुद्धको विद्रोही स्वरूपमा देखेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीको जित अघि नै उनलाई “मेरो सानो कम्युनिस्ट मेयर” भन्दै आलोचना गरेका थिए । ट्रम्पले ममदानीका नीतिहरू लागू भएमा संघीय कोष कटौती र राष्ट्रिय गार्ड तैनाथ गर्ने चेतावनी दिएका छन् ।










प्रतिक्रिया