काठमाडौं । पूर्व अमेरिकी उपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ। परिवारले मंगलबार जारी गरेको विज्ञप्तिमा निमोनिया र मुटुसम्बन्धी रोगका कारण उनको मृत्यु भएको जनाएको छ।
चेनी सन् २००१ देखि २००९ सम्म अमेरिकी राष्ट्रपति जर्ज डब्लु. बुसको कार्यकालमा उपराष्ट्रपति रहेका थिए। उनलाई अमेरिकी इतिहासका सबैभन्दा शक्तिशाली उपराष्ट्रपतिहरूमध्ये एक मानिन्छ।
सन् २००१ को ‘नाइन–इलेभेन’ आतंककारी हमलापछि चेनी ‘वार अन टेरर’ रणनीतिको मुख्य अभियन्ता बनेका थिए। उनले इराकमाथिको सैन्य आक्रमणमा निर्णायक भूमिका खेलेका थिए, जसलाई पछि गलत सूचनाको आधारमा गरिएको भनेर आलोचना गरिएको थियो।
अन्तिम वर्षहरूमा चेनी आफ्नो दल रिपब्लिकन पार्टीभित्र एक्लिँदै गएका थिए। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति खुलेर विरोध जनाउँदै उनले ट्रम्पलाई ‘कायर’ र ‘अमेरिकाको सबैभन्दा ठूलो खतरा’ भनेका थिए।
सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा उनले विपक्षी पार्टी डेमोक्रेटकी उम्मेदवार कमला ह्यारिसलाई समर्थन गरेका थिए।
(स्रोत: CNN)










प्रतिक्रिया