काठमाडौं । अमेरिकाविरुद्ध प्रसारित ‘ट्यारिफ’विरोधी विज्ञापनका कारण उत्पन्न विवादपछि क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेका छन्।
दक्षिण कोरियामा जारी एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कर्नीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग माफी मागेको पुष्टि गरेका हुन्।
अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको सन् १९८७ को रेडियो सन्देशको अंश प्रयोग गरी तयार गरिएको उक्त विज्ञापनमा ट्रम्प प्रशासनले लगाएको ट्यारिफको आलोचना गरिएको थियो। विज्ञापनप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले क्यानडासँगको व्यापार वार्ता स्थगित गर्दै क्यानडाबाट आयात हुने सामानमा १० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने घोषणा गरेका थिए।
प्रधानमन्त्री कर्नीले उक्त विज्ञापन प्रसारणअघि नै ओन्टारियोका प्रिमियर डग फोर्डलाई प्रसारण नगर्न सल्लाह दिएको बताएका छन्। विज्ञापन ओन्टारियो प्रान्तीय सरकारले तयार गरी अमेरिकामा प्रसारण गरेको थियो।
कर्नीले भने, “प्रधानमन्त्रीका रूपमा म अमेरिकी राष्ट्रपतिसँगको सम्बन्धका लागि जिम्मेवार छु र संघीय सरकार वैदेशिक सम्बन्धका लागि जिम्मेवार हुन्छ।”
उक्त विवादपछि क्यानडा र अमेरिकाबीचको व्यापार वार्ता पुनः सुरु हुने वा नहुनेबारे भने स्पष्ट संकेत प्राप्त भएको छैन।










प्रतिक्रिया