विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार, इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ।
विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य पालन गर्ने क्रममा चौधरीले असोज १९ गते बाढी र पहिरोले ठूलो क्षति पु¥याएको इलामको माइजोगमाई गाउँपालिका–६ चाङ क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनीले बाढी–पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शव उद्धार गरी पहिरोबाट निकाल्ने कार्यको नेतृत्व गरे। त्यसैगरी माइजोगमाई गाउँपालिका–५ र ६ का दुई जना सुत्केरी महिला र एक जना सिकिस्त बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्न पनि सक्रिय भूमिका खेले।
त्यसपछि, बाढी–पहिरोबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय नयाँबजारका लागि स्थानीय समाजसेवीसँग समन्वय गरी करिब ५० हजार रुपैयाँ बराबरका फर्निचर र सामाग्री उपलब्ध गराए। साथै अवरुद्ध भएका सडकहरू पुनः सञ्चालन गर्न स्थानीय प्रतिनिधि र सरोकारवाला निकायसँग सहकार्य गरेर द्रुत गतिमा सुचारु गराएका थिए।
उनका यी कार्यहरूको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई २०८२ साल असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो।










प्रतिक्रिया