दुबई । साउदी अरेबियाले ९० वर्षीय अति रूढीवादी इस्लामिक विद्वान शेख सालेह बिन फावजान अल–फावजानलाई देशको नयाँ ग्रान्ड मुफ्ती नियुक्त गरेको छ। सरकारी साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार राजा सलमान बिन अब्दुलअजिज अल साउदले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सिफारिसमा बुधबार राति उनीलाई नियुक्त गरेका हुन्।
शेख सालेहले दिवङ्गत ग्रान्ड मुफ्ती शेख अब्दुलआजिज बिन अब्दुल्लाह अल–शेखको स्थान लिएका हुन्, जसको गत सेप्टेम्बरमा निधन भएको थियो। शेख अब्दुलआजिज करिब २५ वर्षसम्म ग्रान्ड मुफ्तीका रूपमा कार्यरत थिए।
सन् १९३५ सेप्टेम्बर २८ मा अल–कासिम प्रान्तमा जन्मेका शेख सालेहले बाल्यकालमै कुरान अध्ययन गरेका थिए। उनी ‘नूर अला अल–दर्ब’ नामक रेडियो कार्यक्रम र आफ्ना फतवा, पुस्तक तथा टेलिभिजन कार्यक्रमका कारण प्रसिद्ध छन्।
उनका केही अभिव्यक्तिहरू विवादास्पद मानिँदै आएका छन्। सन् २०१७ मा ह्युमन राइट्स वाचले उद्धृत गरेको उनका भनाइअनुसार उनले सिया समुदायप्रति कठोर टिप्पणी गरेका थिए। साथै सन् २०१६ मा उनले मोबाइल गेम ‘पोकेमोन गो’ लाई जुवा भन्दै फतवा जारी गरेका थिए।
साउदी अरेबियामा ग्रान्ड मुफ्ती सुन्नी इस्लामिक संसारका सबैभन्दा उच्च धार्मिक पदमध्ये एक मानिन्छ। मक्का र मदीनाजस्ता पवित्र स्थलहरूको धार्मिक मामिलामा ग्रान्ड मुफ्तीका फतवाहरू प्रभावशाली मानिन्छन्।
राजा सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरेबियाले पछिल्ला वर्षहरूमा सामाजिक उदारीकरणका कदम चाल्दै आएको भए पनि शेख सालेहजस्ता परम्परावादी विद्वानको नियुक्तिले देशको धार्मिक संस्थान अझै परम्परागत धारमै रहेको सङ्केत गरेको विश्लेषकहरूको भनाइ छ।
यससँगै शेख सालेह बिन फावजान अल–फावजान साउदी अरेबियाका सर्वोच्च इस्लामिक धार्मिक पदाधिकारी बनेका छन्।
प्रतिक्रिया