Logo

प्रवास

एनआरएनए एकताको अन्तिम तयारीमा छौं : महेशकुमार श्रेष्ठ


३० आश्विन २०८२, बिहिबार  

23
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठले एनआरएनए एकताका लागि अन्तिम प्रयास भइरहेको बताएका छन् ।

एनआरएनए डेका अवसरमा बन्द्री केसी समूहसँग एकताको प्रयासका लागि पटक पटक प्रयास भएपनि असफल भएको उनले बताए । तर एकताको प्रयास नजिक पुगिसकेको उनको दाबी छ ।

‘एनआरएनएका डे का दिन एकताको घोषणा गर्नका लागि अभ्यासहरु भएका थिए । तर कसरी आ–आफ्नो अस्तित्व स्वीकार गरेर अघि बढ्ने, कसरी स्वामित्व ग्रहण गर्ने र कुन मोडालिटीमा एकता गर्ने भन्ने विषयमा अझै निष्कर्ष निस्किएको छैन् । हामी एकताको अन्तिम तयारी गरिरहेका छौं,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने ।

श्रेष्ठले केही एजेन्डामा कुरा नमिलाकाले एकता घोषणा गर्न नसकेको उनले बताए । सरकारका तर्फबाट पनि परराष्ट्र मन्त्रालयले सहजीकरण गरेर एकताको प्रयास भइरहेको उनले बताए ।

एनआरएनएको बद्री केसी समूहले दावी गरेको आफ्नो कार्यकाल बुधबार, २८ असोज (अक्टोबर १४, २०२५) देखि सकिएको छ । कार्यालय सकिएपछि केसी पक्षले पनि सकारात्मक रुपमा एकताको प्रयास गरिरहेको बताइन्छ ।

सर्वोच्च अदालतको परमादेशबाट गठित एनआरएनए उच्चस्तरीय समितिले गत मे ३–४ मा काठमाडौंमा आयोजना गरेको एकताको महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको वैधानिक कार्यसमितिलाई सचिवालयमा प्रवेश दिएको छैन् ।

सर्वोच्चको दोस्रो फैसलालाई हवाला दिँदै केसी पक्षले आफूहरुको कार्यकाल अक्टोबर १४, २०२५ सम्म भएको दावी गर्दै आएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ११ : ३८ बजे