रामेछाप । रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवी मन्दिरमा बडादशैँको सरकारी पूजा सम्पन्न भएको छ ।खाँडादेवी विकास कोषको तर्फबाट बडादशैँ–२०८२ को अवसरमा खाँडादेवीलाई महानवमीको दिन सरकारी पूजा चढाइएको हो । कोषको तर्फबाट राँगो, बोका–पाठी, हाँस, कुखुरा र परेवाको पञ्चबलि चढाइएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिए ।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले खाँडादेवीसँग बलपुकारा मागेको र विजय प्राप्त गरेपछि खाँडादेवीको सिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बिच बाटोबाट नै अलप भई खाँडादेवी आएपछि दरबारको तर्फबाट नै खाँडादेवीलाई बलि दिने प्रचलन चलाएको भनाइ रेको छ ।
खाँडादेवीमा रहेका गणेशलाई हाँस र कुखुराको पोथी, मङ्गलादेवीलाई भाले, भैरवीलाई राँगो, कमलामाईलाई परेवा र खाँडादेवीलाई बोका पाठी बलि दिने प्रचलन त्यस बेलादेखि नै रहँदै आएको छ । दरबारले पठाउँदै आएको पञ्चवली २००९ सालमा आएर रोकिएपछि पुजारीहरूले सरकारी पूजा गर्दै आएका थिए । २०७० सालमा खाँडादेवी विकास कोष स्थापना भएपछि अहिले सकारी पूजा सहित दैनिक नियमित नियमित पूजा, मन्दिर व्यवस्थापन तथा विभिन्न सामाजिक काम कोष मार्फत हुँदै आएको छ ।
यसरी गरिन्छ सरकारी पूजा
खाँडादेवीमा बडादशैँको महानवमी र चैते दशैँको राम नवमीमा सरकारी पूजा हुने गर्दछ । सरकारी पूजाको दिन बिहानै खाँडादेवीका सबै पुजारीहरू नुहाइधुवाई गरेर देवीलाई चढाउने धूप, अक्षता, नैवेद विशेष किसिमले सिँगारेको डालोमा लिएर पञ्चेबाजा सहित बलि चढाउने पन्छी र चौपाया लिएर निस्कन्छन् । त्यस पछि मन्दिर परिक्रम गरी सबैको सुख, समृद्धि र विश्व शान्तिको कामना गर्दै देवीका थानहरूमा बल पुकारा मागिन्छ ।
मूल पुजारीले सबैभन्दा पहिला कालरात्रि देवीको पूजा गरेर बलपुकार माग्ने गर्दछन् । कालरात्रिको मूर्ति खाँडादेवी मन्दिरको तल ठुलो ढुङ्गा मुनि रहेको छ । त्यहाँ फूल, अक्षताले पूजा गरी धूप बालेर नरिवलको जटा फुटाइन्छ । कालरात्रि देवीको पूजा पछि महालक्ष्मीको पूजा गरिन्छ । महालक्ष्मीको मन्दिर पनि खाँडादेवीको मन्दिरको तल फूलबारीको छेउमा छ । हाल लक्ष्मीलाई खाँडादेवीकी बहिनीका रूपमा पुकारिन्छ । महालक्ष्मीलाई पनि फूल, अक्षता, नैवेद चढाएर जटा नरिवल फुटाई पूजा गरिन्छ । महालक्ष्मीको पूजा पछि खाँडादेवीका छेउमा रहेको गणेशको पूजा, आराधना गरी बल पुकार मागिन्छ । गणेशलाई फूल, अक्षता धूपका साथै कुखुराको पोथी र हाँस चढाइन्छ ।
गणेशको पूजा सकेर मूल पुजारी सहित पुजारीहरूले खाँडादेवी मन्दिरको दक्षिण पट्टी रहेको कमलामाईको मन्दिरमा पूजा गरी बलपुरका माग्दछन् । कमलामाई लाई परेवा चढाएर पूजा गर्ने गरिन्छ । कमलामाई पछि भैरवीको पूजा हुन्छ । खाँडादेवी मन्दिरको मुलगेट अगाडी तल्लो भागमा रहेको भैरवीको पूजा गरी बलपुकारा राँगो बलि चढाइन्छ ।त्यस पछि खाँडादेवीको मूलढोकै अगाडि रहेको मङ्गलादेवीको पूजा आराधना गरिन्छ । मङ्गलादेवीको आराधना गरी कुखुराको भाले चढाएपछि खाँडादेवीको मूल मन्दिर भित्र देवीको पूजा, आराधना र पुकार गरिन्छ । खाँडादेवीको अनेक प्रकारले पुजारीहरूले पुकारा गरी पूजा गरेर बोका र पाठी चढाउँछन् । यी सबै पुकारा गरिसकेपछि चतुर्थी होम र बलि दिएपछि सरकारी पूजा सकिन्छ ।
खाँडादेवीलाई किराँतकालिन देवी मानिन्छ । त्यसेले यसको इतिहास निक्कै पुरानो छ । कहावत अनुसार रामेछापको गेलुका सनमान पहरी र दुमना पहरीको कोखबाट जन्मिएकी सुन्दरी कन्या सुकमायालाई तत्कालीन राजाले रानी बनाउन दरबार लगेकामा दरबारमा बस्न नरुचाएपछि घर फर्काइदिने क्रममा खाँडादेवीमा आएपछि ती कन्या मानिसको रूपबाट अलप भएर तीतेपातीको छाप्रो हालेर बसिन् । पछि त्यही स्थानमा शिला फेला प¥यो र त्यही शिलालाई खाँडादेवी भनेर पूजा गर्न थालियो । त्यसैले खाँडादेवीलाई दरबारकी देवी र महारानी भनेर पुकारिन्छ ।
दशैँको फूलपातीको दिन गेलुका पहरी समुदायले खाँडादेवीलाई केरा, उखु, अदुवाको बोट, माछा, छोकडा, जिर्मा, छ्याङ, राँगा, बोका, कुखुरा, हाँस, परेवा तथा कुमारीको सामग्रीहरू ऐना चुरा, धागो, सिन्दूर, टिका चढाउने चलन छ । जसलाई माइती भित्र्याउने भनिन्छ । पहरीहरूले खाँडादेवीलाई आफ्नी चेली मान्दछन् । खाँडादेवीसम्म पुग्न गाह्रो भएपछि उनीहरूले गेलुमा नै खाँडादेवीको प्रतिमा स्थापना गरी सो पूजा गर्ने गरेका छन् ।
खाँडादेवी गाउँपालिका–२ र ७ को सिमानामा रहेको खाँडादेवी मन्दिर रामेछापको ऐतिहासिक, धार्मिक शक्तिपीठ मानिन्छ । यसको चर्चा देवीभागवत महापुराण र शिवपुराणको हिमवत खण्डमा पनि गरिएको छ । मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यसले यसको पुरातात्विक महत्त्व झल्काउँछ । त्यसैले पुरातत्त्व विभाग मार्फत पुरातत्त्व नखलबलिने गरी मन्दिरको पुनर्निर्माण तथा मन्दिर परिसरमा संरचना निर्माणको काम भएको छ ।

खाँडादेवीलाई दरबारबाट पठाइने पूजा खर्च विसं २००९ बाट पठाउन छाडेपछि पुजारीहरूले आफैँले खर्च उठाएर सो पूजा गर्दै आएका थिए । अहिले खाँडादेवी विकास कोषले महानवमी र चैते दशैँमा सरकारी पूजा गर्दै आएको छ ।
शिवपुराणको हिमवत खण्डमा उल्लेख भए अनुसार रोशमति (रोशी खोला) र (सुवर्ण कौशिका) सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले वृतासुरको वध गरी दुर्गा नदीमा खड्ग पखालेर खाँडादेवीमा खड्ग गाडी कालिञ्चोकमा अन्तध्र्यान भएको उल्लेख छ ।
देवीले गाडेको भनिएको खड्ग अहिले पनि खाँडोदेवीमा छ । अहिले मन्दिरमा दर्शन गर्न देशभरिका साथै भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् । देवीले खड्ग गाडेको, दरबारबाट नै पूजा सामाग्री पठाउने तथा कामना गरेको कुरा पुरा भएपछि मन्दिरमा अदर्शन गर्न आउने मानिसहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।
खाँडादेवीमा पञ्चवली लिएर काठमाडौं उपत्यकाका साथै, रामेछाप, दोलखा, सिन्धुली, ओखलढुङ्गा, काभ्रे, सर्लाही लगायतका जिल्लाबाट मानिसहरू आउने गर्दछन् । आफूले मागेको कुरा पुरा भएपछि बलि सहितको पूजा लिएर आउने गरेको दर्शनार्थीहरु बताउँछन् । कतिपय दर्शनार्थीहरु घुम्न र खाँडादेवी हेर्न पनि मन्दिर आउने गर्दछन् । यसरी आउने देशभरका साथै भारतका दर्शनार्थीहरु समेत रहेका छन् ।
खाँडादेवीलाई पहरीकी छोरी मान्नु, मन्दिरको पुजारी तामाङ समुदायबाट हुनु, हिन्दु र बौद्धधवलम्बीहरुले यो मन्दिरलाई आस्थाको केन्द्र मान्नुले पनि नेपाली समाजमा विविधता बिचको एकतालाई बलियो बनाउन पनि यो मन्दिरले योगदान गरेको छ । पछिल्लो समय खाँडादेवी आकर्षक पर्यटकीय धार्मिक स्थल बन्दै गएको छ ।

प्रतिक्रिया