काठमाडौं । राष्ट्रसंघको प्रतिबन्ध पुनर्बहालीपछि इरानले बेलायत, फ्रान्स र जर्मनीबाट आफ्ना राजदूतलाई सल्लाहका लागि फिर्ता बोलाएको छ । शनिबार रातिदेखि लागु भएको प्रतिबन्धमा सम्पत्ति जफत, यात्रामा प्रतिबन्ध, युरोपेली प्रतिबन्धको फिर्ती र अर्को सातादेखि अमेरिकी प्रतिबन्धको असर समावेश हुने समाचार एजेन्सीहरूले जनाएका छन् ।
राष्ट्रपति मसूद पेजेश्कियान संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्युयोर्कबाट फर्कंदै गर्दा उनले प्रतिबन्धलाई “आकाश खसेजस्तो नभएको” प्रतिक्रिया दिएका थिए । उनले इरानी टेलिभिजनसँग कुरा गर्दै, “यदि हामी कमजोर भयौँ भने उनीहरूले हामीलाई कुचल्नेछन्, तर एकजुट भयौँ भने यो संकटसँग डराउनु पर्दैन,” भनेका छन् ।
बेलायत, फ्रान्स र जर्मनीले ३० दिनको प्रक्रिया सुरु गर्दै इरानमाथि २०१५ को आणविक सम्झौताको उल्लंघन गरेको आरोप लगाएका थिए । उक्त सम्झौता इरानलाई आणविक हतियार बनाउनबाट रोक्ने उद्देश्यले गरिएको हो । तर इरानले आफूले आणविक हतियार बनाउन नचाहेको दाबी दोहोर्याउँदै आएको छ ।
इरानले प्रतिबन्धको पुनर्बहाली गम्भीर परिणाम ल्याउने चेतावनी दिँदै आवश्यकता परे थप कडा कदम चाल्ने संकेत गरेको छ । यद्यपि, राष्ट्रपति पेजेश्कियानले इरानले आणविक अप्रसार सन्धिबाट बाहिरिने मनसाय नराखेको स्पष्ट पारेका छन् ।
प्रतिक्रिया