Logo

शिक्षा

सिटिइभिटीले शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु


१० आश्विन २०८२, शुक्रबार  

23
Shares

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको आठबुँदे निर्देशन कार्यान्वयन सुरु गरेको छ।

मन्त्री पुनले बिहीबार परिषद्लाई मौजुदा पाठ्यक्रम सुधार गरी नवप्रवर्तन समावेश गर्न खाका असोज मसान्तभित्र पेश गर्न, एकीकृत क्यालेन्डर बनाउन र परीक्षाफल तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था गर्न लिखित निर्देशन दिएका थिए।

त्यसअन्तर्गत परिषद्लाई विद्यार्थी, अभिभावक र शिक्षकको गुनासो सुन्ने र अभिलेखीकरण गर्ने शाखा तत्काल स्थापना गर्न, २०६९ सालदेखि प्राप्त सबै सम्बन्धन आवेदन अध्ययन गरी प्रतिवेदन पेश गर्ने र तत्काल निर्णय गर्न पनि निर्देशन दिइएको छ।

सदस्य सचिव ई. महेश भट्टराईका अनुसार हाल करिब ५०० संस्थाको सम्बन्धन आवेदन विचाराधीन छ र मन्त्रालयको निर्देशनअनुसार छिटो टुङ्गोमा पुर्‍याउने तयारी भएको छ। लामो समयदेखि रोकिएका सम्बन्धन प्रक्रिया चाँडै निष्कर्षमा पुर्‍याइने सिटिइभिटीका प्रवक्ता टैलेन्द्र आचार्यले जानकारी दिए।

हाल परिषद्मातहत ६७ आङ्गिक, ५६ साझेदार, ६३९ सामुदायिक र ४२१ निजी शिक्षण संस्था सञ्चालनमा छन्। यिनले कृषि, वन, इञ्जिनियरिङ, स्वास्थ्य, होटल व्यवस्थापनलगायत क्षेत्रमा डिप्लोमा, प्रमाणपत्र तथा प्रि–डिप्लोमा तहका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : १७ बजे