काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् ।
गुरुङ सिनेमाका चर्चित अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, फिच्यो र सिरसुवामा अभिनय गरेका छन् । यता, अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मा अभिनय गरिसकेकी छन् । यी दुवै गुरुङ सिनेमाबाट पहिलो पटक नेपाली रजतपटमा डेब्यु गर्न उत्साहित रहेको बताए ।
त्यसमाथी गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सनपट्टा’बाट मेन स्ट्रिमको सिनेमामा डेब्यु गर्न पाउँदा झनै उत्साहित बनाएको उनीहरु बताउँछन् ।
कार्तिकबाट फ्लोरमा निस्कने यो सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि सिनेमाले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा देखाउने निर्देशक तथा निर्माता गुरुङले बताँछन् ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । सिनेमामा अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए । सिनेमाको सम्पुर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ । सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।
निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा बक्सअफिसमा हिट भएको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि होमिएका छन् । उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।
प्रतिक्रिया