Logo

समाचार

‘जमरा भगवतीको प्रिय बस्तु हो, यसको सांस्कृतिक र औषधीय महत्त्व छ’



काठमाडौं । वडादशैंका बेला नेपाली समाजमा टीका र जमराको विशेष महत्व छ । दशैंमा रातो र सेतो टीक लगाउने चलन छ । हिन्दू धर्मावलम्बीहरूले दसैंको नवमीको दिन विधिपूर्वक राखिएको जमराको धार्मिक र वैज्ञानिक कारणहरु रहेको अध्येताहरुको भनाइछ ।

जमरा भनेको जौको अङ्कुर हो र यसको प्रयोग परम्परागत रूपमा विशेष धार्मिक महत्त्वका साथ गरिन्छ । धार्मिक मान्यताअनुसार, जमरा भगवतीलाई अति मनपर्ने प्रिय वस्तु हो ।

संस्कृती अध्येता कीर्तिनाथ मिश्रका अनुसार, ‘जमरा भनेको भगवतीलाई अति प्रिय वस्तु हो । त्यसमा विशेषगरी जौं को प्रयोग गरिन्छ । जौं नभई जमरा हुँदैन ।’ उनका अनुसार जौं तागत दिने अन्न हो र यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्यसैले देवी दुर्गालाई चढाउने प्रसादका रूपमा जौंबाट पलाएको जमरालाई विशेष मानिन्छ ।

दसैंमा घरघरमा विधिपूर्वक राखिने जमरामा जौसँगै मकै पनि मिसाउने चलन छ । मिश्र भन्छन्, ‘मकै राख्ने परम्परा सर्वसाधारण तथा पाहुनालाई ‘लौ प्रसाद’ भनेर दिने चलनसँग सम्बन्धित छ । मकै मिसाउँदा जमरा झनै आकर्षक देखिन्छ ।’

जमराको औषधीय पक्षमा पनि विशेष ध्यान दिइन्छ । मिश्रका अनुसार,‘जमरा खाएमा शरीरमा सुगर (रक्तमा चिनी) को मात्रा कम गर्न सहयोग गर्छ ।’ यसैले जमराको धार्मिक महत्त्वसँगै स्वास्थ्यसम्बन्धी उपयोगिता पनि छ ।

वर्षौंदेखि दसैंको सांस्कृतिक र धार्मिक परम्परामा गहिरो रूपमा जरा गाडेको जमरा, केवल चाडपर्वको शोभा मात्रै होइन, भगवतीप्रतिको श्रद्धा, परम्पराको निरन्तरता, र स्वास्थ्यको संकेत समेत हो ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ५६ बजे